एमाले उपाध्यक्षमा भुसाल, सचिवमा आचार्य र कार्की पराजित
झापा । नेकपा (एमाले) को उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन्। यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।
केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार ६ जना उपाध्यक्ष चाहिनेमा भुसाल सातौं नम्बरमा परेका हुन्। उनले ७ सय २५ मत प्राप्त गरेका छन्।
ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९ सय ७६ मत प्राप्त गरी विजयी भएकी छिन्। सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८ सय ५६, युवराज ज्ञवाली १८ सय ४२ र रामबहादुर थापा बादल १७ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।