२०८२ माघ ५ गते , सोमबार

मेची अस्पताल एम्बुलेन्सविहीन‚ एम्बुलेन्स बिग्रिएर थन्कियो

sajilo news
पार्थ मण्डल
२०७८ माघ ११ गते , मंगलबार
मेची अस्पताल एम्बुलेन्सविहीन‚ एम्बुलेन्स बिग्रिएर थन्कियो

(पार्थ मण्डल) झापा । प्रदेश १ सरकारको स्वामित्वमा रहेको जिल्लाकै एक मात्र ठुलो मेची अस्पताल भद्रपुर लामो समयदेखि एम्बुलेन्स विहीन छ ।  कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको अवस्थामा जिल्लाकै ठुलो सरकारी मेची अस्पतालको स्वामित्व एउटा पनि एम्बुलेन्स छैन ।  करिब ९ महिनाअघि एम्बुलेन्स बिग्रिएर अस्पताल परिसरमा थन्काइएको छ । अस्पताल प्रशासनले नयाँ एम्बुलेन्स ल्याउन कुनै ठोस कदम नचालेको पाइएको छ । 

भारतीय राजदूतावासले सन् २००८ मा मेची अस्पताललाई मे १ झ ९१ नम्बरको (ग) वर्गको एउटा एम्बुलेन्स दिएको थियो । त्यस भन्दा अघि संयुक्त राष्ट्र शरणार्थी निकाय (यूएनएचसीआ)ले मेचीलाई मे १ झ ६८ नम्बरको एम्बुलेन्स दिएको थियो । 

यूएनएचसीआरले दिएको एम्बुलेन्स काम नलाग्ने भएपछि भारतीय राजदूतावासले नयाँ एम्बुलेन्स दिएको अस्पताल प्रशासनले जनाएको छ । अहिले बिग्रिएका दुवै एम्बुलेन्स एकै ठाउँमा राखिएको छ । दुवै एम्बुलेन्स काम नलाग्ने भएपछि थन्काइएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । नयाँ एम्बुलेन्स मागका लागि प्रदेश १ सरकारलाई पत्राचार गरिसकेको उनले बताए । 

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार ५० शय्या भन्दामाथि वा प्रादेशिक अस्पतालले कम्तीमा (क) वर्गको एउटा र (ख) वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । तर, मेचीमा (क) र (ख) वर्गको त परै जाओस्, अहिले (ग) वर्गको पनि एम्बुलेन्स नहुँदा असहाय, गरिब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरू निःशुल्क सेवा पाउनबाट वञ्चित हुनु परेको छ । 

निर्देशिकाले सहाय, गरिब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरूलाई एम्बुलेन्सले निःशुल्क सेवा दिनुपर्ने उल्लेख गरेको छ । एम्बुलेन्स नहुँदा अस्पतालमा कार्यरत एम्बुलेन्स चालक जयविन्द्र सिंह र डिल्ली खरेललाई प्रशासन पक्षले अन्य कामकाजमा खटाएका छन् । ‘कोरोनाको पहिलो लहरमा एम्बुलेन्स बिग्रिँदा पनि जसो त्यसो सञ्चालन गरेका थियौँ,’ चालक सिंहले भने, ‘दोस्रो लहर सुरु भए लगतै अस्पतालको एउटा एम्बुलेन्स पनि बिग्रियो, त्यसलाई बनाएर चलाउँदा पनि सम्भव भएन ।’  

त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्रकोटीले नयाँ एम्बुलेन्स ल्याउने पहल भइरहेको बताए ।  अस्पतालमा एम्बुलेन्स नहुँदा समस्या भइरहेको बताउँदै अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले  भने, ‘एम्बुलेन्स पुरानो भएपछि यसअघि कयौँ पटक अस्पताल प्रशासनले प्रदेश तथा सङ्घीय सरकारलाई नयाँ एम्बुलेन्स पठाइदिन भनी पत्राचार गरिसकेको अवस्था छ, ‘तर, त्यसतर्फ दुवै सरकारको ध्यान गएको छैन ।’ दातृ निकाय र अन्य सङ्घसंस्थालाई पनि आग्रह गरिरहेका छौँ । ‘एम्बुलेन्स खरिद सामान्य खर्चको कुरा हो, तर अस्पतालको आन्तरिक स्रोतबाट नयाँ एम्बुलेन्स खरिद गर्न सक्ने अवस्था छैन,’ उनले भने । 

प्रदेश १ सरकारले हालसम्म प्रादेशिक अस्पताल नामकरण गर्न नसकेको मेची अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीहरू निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य बनेका छन् ।   


सम्बन्धित समाचार