झापामा बम राखेर आतंक मच्चाउने भूमिगत समूह परिषद्का मुख्य योजनाकारसहित ९ जना पक्राउ
ठेकेदारदेखि पुजारीसम्म घटनामा संलग्न
(पार्थ मण्डल) झापा । झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालका मुख्य योजनाकारसहित ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुख्य योजनाकार गौरादह नगरपालिका– २ निवासी ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई नगरपालिका– ३ निवासी ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका– ९ स्थित चिया दोकान चोक निवासी ५० वर्षीय देवी बास्कोटा (गुरागाईँ), कोटी होममा पुजारीको काम गर्ने कनकाई नगरपालिका– ३ निवासी ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका– १ निवासी ३२ वर्षीय सरुन लिम्बु भन्ने दिलकुमार सामेखाम, सङ्खुवासभा खाँदवारि नगरपालिका– १० सित्तलपाटी घर भई हाल मोरङ जिल्ला सुन्दरहरैचा– ६ निवासी २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज गाउँपालिका– ३ निवासी ३२ वर्षीय आनन्द भन्ने अनन्तप्रसाद गिरी, गौरादह नगरपालिका– ५ निवासी ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज गाउँपालिका– ३ निवासी ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।
भूमिगत समूह गोरखा जनमुक्ति पार्टीको नामबाट आपराधिक गतिविधि गर्ने पक्राउ परेका व्यक्तिहरू नै जेलबाट छुटेपछि भूमिगत समूहको नाम परिवर्तन गरी सोही प्रकृतिको आपराधिक कार्य गर्दै आएको पनि खुलेको एसपी पोखरेलले बताए । प्रहरीले उनीहरूका साथबाट कालो रङ्गको झोला भित्रबाट हिमाल सुरक्षा परिषद् नेपाल इन्चार्ज केन्द्रीय कमिटि, इन्चार्ज कोसी अञ्चल कमिटि, अध्यक्ष कोसी अञ्चल कमिटि, अध्यक्ष मेची अञ्चल कमिटि, इन्चार्ज मेची अञ्चल कमिटि, हस्ताक्षर मात्र भएको १० थान छाप, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको एक थान चेक बुक, नेपाल बैंक लिमिटेडको एक थान चेक बुक, एक थान खोप कार्ड, एक÷एक थान एन्सेल र नमस्तेको सिम कार्ड, पासपोर्ट साइजको ५ थान पुरुष मानिसको फोटो, हिमाल सुरक्षा परिषद् नेपाल लेखिएको दुई थान पर्चा थान, लेटर प्याडमा आर्थिक सहयोग सम्बन्धमा लेखिएको लेटर प्याड ५ थान–५, योजनाकार सुमनकुमार कार्कीको नामको मतदाता परिचय पत्र, क्लासमेट लेखिएको कपि एक थान र मोबाइल फोनहरू बरामद गरिएको छ ।
झापा र मोरङको विभिन्न स्थानबाट मितिमा विभिन्न पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
परिषद्ले माघ १३ गते दमक नगरपालिका– ५ हरि ओम कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा बारुद जस्तो देखिने धुलो (इआडि) शङ्कास्पद बस्तु र माघ ९ गते बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको थियो । बमसँगै राखिएको पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएको थियो ।
यस्तो छ पक्राउ परेकाहरूको गतिविधि
प्रहरीका अनुसार मुख्य योजनाकार कार्की ठेक्कापट्टाको काम गर्दै आएका छन् । उनी वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ बैशाख देखी २०७७ फागुनसम्म २२ महिना झापा जिल्ला कारागारमा बसेर छुटेको र २०७८ साउन १९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएका टोलीले गौरादह २ स्थित उनकै घरबाट ३० ग्राम लागू औषध (ब्राउन सुगर) बरामद गरेको र लागू औषध मुद्दामा उनको विरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । पछिल्लो समयमा उनी भारतमा बसी आर्थिक संकलन गरेर आपराधिक योजना बनाउने गर्दै आएका थिए । उनकै साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने रसिद सिम कार्डहरू र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत बरामद भएको थियो ।
त्यस्तै पक्राउ परेका भीष्म थापा पेसाले ट्युबेल गाड्ने काम गर्दै आएका थिए । योजनाकार कार्की र पुजारी सिटौलाले थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बिर्तामोडमा पर्चासहितको प्रेसर कुकर बम राख्न लगाएका थिए । उनले माघ ९ गते बिहान ३ बजे साइकल चढेर आएर बम राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गुरागाईँ हिमाल सुरक्षा परिषद्मा आबद्ध रही शङ्कास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रहेको पाइएको छ । उनले माघ ८ गते केर्खा चोकको एक पसलबाट ४ वटा प्रेसर कुकर खरिद गरी मुख्य गिरोहलाई उपलब्ध गराई विस्फोटन गतिविधिमा सहयोग गरेको साथै चन्दा असुल गर्ने कार्यमा समेत संलग्नता देखिएको छ ।
उनको घरबाट घटनामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन, चन्दा माग गर्न प्रयोग भएको मोबाइल तथा समूहको गतिविधिमा शङ्कास्पद देखिएको चेकहरू समेत बरामद भएको छ । त्यसैगरी कोटी होमका पुजारी सिटौला ग्रेटर नेपालको माग राख्दै शङ्कास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसेर छुटेका हुन् ।
उनी योजनाकार कार्कीसँग मिलेर हिन्दु राज्य र राजतन्त्र पुनः स्थापनाको माग राखेर कोटीहोमस्थित आफ्नो कुटीमा पटक पटक छिमेकी भीष्म थापासँग छलफल गरेर थापालाई बम राख्न कार्यमा लगाएका थिए । पक्राउ परेका सामेखाम लागू औषध मुद्दामा ५ वर्ष कारागारमा जेल जीवन बिताइ छुटेका हुन् । उनी परिषद्को नामबाट झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने, मनमोहन दाहालबाट रकम लिई भारत विहार राज्यको अररिया जिल्ला स्थित कलियागञ्जसम्म पुगी त्यही बसेर पार्टीको गतिविधि सञ्चालन गर्न रकम उपलब्ध गराई सहयोग पुर्याउँदै आएको थियो ।
पक्राउ परेका दाहाल हिन्दु राज्य नेपाल र राजतन्त्र पुनर्स्थापनाको माग राखेर बिर्तामोड र दमकमा प्रेसर कुकर बम राख्ने योजना बनाई संलग्न गिरोहलाई रकम उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी ग्रेटर नेपालको माग राखेर २०७६ बैशाख २८ गते माइधारस्थित कनकाई पुलमा शङ्कास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परी कारागार बसेर छुटेका हुन् ।
त्यस्तै प्रदीप थापा र गिरी परिषद्को नामबाट विस्फोटक पदार्थ जस्तो देखिने शङ्कास्पद प्रेसर कुकर राख्ने योजना बनाउने र चन्दा माग्ने गर्दै आएका थिए । उनी भारत विहार राज्यको अररिया जिल्लाको कलियागंज बसेर नेपाल भारतको सीमा नाकाबाट गतिविधिमा संलग्न व्यक्तिहरूलाई मिलाउने भूमिकामा निर्वाह गर्दै आएका थिए । हलुवाई परिषद्को नाममा अन्य सक्रिय सदस्यहरूले संकलन गरेको पैसा आइएमइबाट संकलन गरी विहार राज्यको कलियागन्ज बस्दै आएका योजनाकारहरू सम्म पुर्याउने काम गर्दै आएका थिए ।