लुट धन्दामा मेचीनगरको ‘भगवती लेमिनेट्स’, कच्चा र पक्का बिलको खेलोमा करोडौँ राजस्व झ्वाम
खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै लुट्न पल्केकाहरूले पनि कुनै न कुनै बहानामा आफ्नो दुनो सोझ्याइरहेका हुन्छन् । यस्तै देखिएको छ, प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्समा पनि । नेम्प्लाई प्लाइउडको नाउँमा कारोबार गर्दै आएको यसले आफूलाई नेपालकै नम्बर १ प्लाइउडको दाबी गर्दै आएको छ । तर, यसका क्रियाकलाप ठगी धन्दामै केन्द्रित देखिएका छन् । अनेकौँ फर्जी बिल बनाएर यसले राज्यको ढुकुटीमाथि अक्षम्य घात गरिरहेको छ । सरकारी संयन्त्रको आँखा छल्न नक्कली बिलमार्फत करोडौं रुपैयाँको कारोबार गरे पनि यसमाथि प्रभावकारी छानविन हुन सकेको छैन । राजस्वमा अनियमितता गरेका प्रमाणहरू सार्वजनिक हुँदासमेत नियामक निकायले आवश्यक तदारुकता नदेखाउँदा थप चलखेल हुने सम्भावना बढेर गएको हो ।
एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झण्डै २५ करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७र७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको थियो । सो कम्पनीले सबैजसो कारोबार अण्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर ९भ्याट० र आयकरबाट बच्न अण्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ । विष्णु मधगोरिया र रजनीश कर्नानी भगवती लेमिनेट्सको मुख्य सञ्चालक हुन् ।
सो अनुसन्धानका क्रममा एकपछि अर्को गरी राजस्व छलीका प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयका अनुसन्धान अधिकृतहरूले भगवती लेमिनेट्सका सञ्चालकहरूलाई बयानका लागि बोलाएका थिए । तर, सात जनामध्ये चारजना बयानका लागि अनुपस्थित भए ।
भगवती लेमिनेट्सले यस्तै ‘ए’ ग्रेडको प्लाइउड बिक्री गर्दासमेत भ्याट छल्नकै लागि ‘सी’ ग्रेडको बिक्री गरेको भनी बिल जारी गर्ने गरेको छ । यस विषयलाई विभिन्न सञ्चार माध्यमले उठाउन थालेपछि बिल मिलाउनका लागि यसका डिलर र खुद्रा व्यापारीले १५ दिनसम्म कारोबार बन्द गरेका थिए । त्यसपछि प्लाइउडको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि पनि गरिएको थियो ।
यस कम्पनीमा प्रयोग हुने सबै सामान भारतबाटै आउने गरेको छ । झापाको काँकडभिट्टा नाका भएर सामान नेपाल आउने गरेको छ । त्यसपछि झापामा रहेको कार्यालयमा राखेर देशका विभिन्न स्थानमा सप्लाई गरिँदै आइएको छ । त्यही भएर पनि रकमको ठूलो चलखेल झापा र इटहरीका शाखामा भेटिएको हो । अहिले कम्पनीले फर्जी कागजात बनाई कारोबार मिलाएर पुनः बिक्री सुरु गरेको छ । त्यस्तै, लेमिनेट्सले कच्चा बिल अर्थात् नर्मल बिल र पक्का बिल अर्थात् भ्याट बिल गर्ने कार्यालय छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको पाइएको छ । झापाको धुलाबारीमा रहेको कार्यालयबाट कच्चा बिलमार्फत कारोबार हुने र झापाकै मेचीनगरस्थित कार्यालयबाट भ्याट बिलको कारोबार गर्ने गरेको पाइएको छ ।
लेमिनेट्सले आफ्नो आर्थिक अपराधलाई ढाकछोप गर्न विभिन्न शक्तिकेन्द्रलाई प्रभावमा लिएर छलछाम गर्ने ध्याउन्नमै लागिरहेको पाइएको छ । भगवती लेमिनेट्सको दोहोरो बिल प्रकरण केही महिनाअघि नै बाहिर आएको थियो । तर, लामो समयसम्म पनि प्रभावकारी ढंगले छानबिन नहुँदा यसका सञ्चालकको मनोबल झनै बढ्दै गएको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान भइरहेको बताइरहे पनि त्यो औपचारिकता निर्वाह गर्नकै लागि मात्र भएको देखिएको छ । प्रभावकारी ढंगले छानबिनमा ढिलाइ हुँदा कानुनी छिद्रहरू खोजेर उन्मुक्ति गराउने चलखेल भइरहेकोे हो कि भन्ने आशंकाले बल पाएको छ । कारोबारको छापा मारेपछि तत्काल छानबिन अघि बढाउनुपर्ने भए पनि विभागले छानबिनमा ढिलासुस्ती गरिरहेको छ । लेमिनेट्सको प्लाइउडको व्यापार गर्ने डिलर तथा सबडिलरहरूको समेत तत्काल छानबिन गर्नुपर्नेमा विभागले छानबिन प्रक्रियामा ढिलासुस्ती गर्दा त्यसको फाइदा डिलर तथा सबडिलरहरूले उठाएका छन् ।
स्रोतका अनुसार यो विषयलाई केन्द्रीय विभागबाटै अनुसन्धान गर्नुपर्ने भन्दै भगवती लेमिनेट्सको करछलीको विषयमा अनुसन्धान गरिरहेको विभागको इटहरी कार्यालयलाई रोक लगाइएको छ । केन्द्रीय विगागका उच्च अधिकारीसँग भगवती लेमिनेट्सको साँठगाँठ भएकाले अनुसन्धान गर्नबाट शाखा कार्यालय इटहरीलाई हस्तक्षेप गरिएको आरोप पनि लाग्न थालेको छ । तर, राजस्व अनुसन्धान विभागले भने अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभावले काम नगर्ने जनाएको छ ।
यस विषयमा भगवती लेमिनेट्स सम्बन्ध केही व्यक्तिहरूलाई सम्पर्क गर्दा छानबिनबाट दोषी भेटिए आफूहरू जस्तोसुकै कारबाही पनि भोग्न तयार भएको बताएका छन् । यो विषय अनुसन्धानको प्रक्रियामा गइसकेकाले कानुनी बाटोबाटै टुंगो लाग्ने उनीहरूको भनाइ छ । कानुनी छिद्रमार्फत उम्काउने तथा डिलर र सबडिलरहरूले समेत कारोबार नै बन्द गरी गैरकानुनी कारोबार लुकाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएर नजिकबाट हेरिरहेको बताइएको छ ।
भगवती लेमिनेट्सले एकपछि अर्को गर्दै करोडौँ रुपैयाँ राजस्व छली गरेको विषयमा राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान थालेपछि त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गम्भीर चासो राखेको छ । अख्तियार उच्च स्रोतले राजस्व अनुसन्धान विभाग र कार्यालयले भगवती लेमिनेट्सको राजस्व छली प्रकरणलाई टुंगोमा पुर्याउने गरी छानबिन गर्नुपर्ने बताएको छ । हिमालय टाइम्सबाट