२०८२ चैत्र २ गते , सोमबार

शंकाले परिवारै सखाप, पत्नी र छोराछोरीको हत्यापछि दिनेशले गरे आत्महत्या

sajilo news
काठमाडौं
२०७९ श्रावण १६ गते , सोमबार
शंकाले परिवारै सखाप, पत्नी र छोराछोरीको हत्यापछि दिनेशले गरे आत्महत्या

एउटा उखान छ ‘शंकाले लंका जलाउँछ’। यो उखान ठ्याक्कै चरितार्थ भएको छ- राजधानी काठमाडौं नजिकको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा। पत्नीमाथि अत्यधिक शंका गर्दा  काभ्रेस्थली पदमसालको एक परिवारै सखाप भएको छ।

तारकेश्वर नगरपालिका-२ पदमसालका स्थानीय ४१ वर्षीय दिनेश पाण्डेको परिवारै सखाप भएको हो। पाण्डेको घरमा आज बिहान उनीसहित उनकी पत्नी ३९ वर्षकी सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिकको शव विभत्स अवस्थामा फेला परेका थिए।

सो घटना दिनेशले आफ्नी पत्नीमाथिको शंकाका कारण निम्तिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार बन्द कोठाभित्र उनीहरू सबैको शव भेटिएको थियो। छोरा र छोरीको शव ओछ्यानमा थियो भने बाबुआमाको भुइँमा लडेको अवस्थामा भेटिएको थियो। पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेका हुन्। छोराछोरीको टाउको तथा पेटका विभिन्न भागमा छुरा प्रहार भएको छ भने दिनेश स्वयंको पनि पेटमा छुरा तथा नाडी काटिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै प्रहरीले ८ पाना लामो सुसाइड नोट फेला पारेको प्रहरीवृत्त बालाजुका इन्स्पेक्टर आशिश अधिकारीले जानकारी दिए। सुसाइड नोटमा दिनेशले आफू वैवाहिक जीवनबाट असन्तुष्ट रहेको खुलाएका छन्। साथै पत्नीले अन्य पुरुषसँग मेसेन्जरमा गरेको कुराकानीको स्क्रिनसटको प्रिन्टसमेत सुसाइड नोटमा उनले राखेका छन्। ​स्टिच गरिएको ती पेजहरूमा दिनेशले बिहे अघिदेखिकै कुराहरू लेखेका प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेश पछिल्लो समय निकै तनावग्रस्त देखिएको पाइएको छ। उनले पत्नीलाई पछ्याउने तथा सधैँ चियोचर्चो गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पत्नीसँगको विवादकै कारण ३ पटकसम्म प्रहरी कार्यालयमा पुगेर मिलापत्र भएको तथ्यसमेत भेटिएको प्रहरीले जनाएको छ। मृतक चारैजनाको शव केहीबेर अघिमात्र कानुनी प्रक्रिया पूरा गरेर उठाइएको छ। प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो। चारैजनाको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिनेछ। थाहाखबरबाट

सम्बन्धित समाचार