युवती र महिलामाथि सामूहिक बलात्कार
मोरङका अलगअलग स्थानमा युवती र महिलामाथि सामूहिक बलात्कार भएको छ। विराटनगर र जहदा गाउँपालिकामा एकैरात घटना भएको प्रहरीले जनाएको छ।
घटना गत बिहीबार रातिको हो। विराटनगर महानगरपालिका–१४ जतुवाको महतो टोलस्थित नहरमा १८ वर्षीया युवतीमाथि ५ जनाको समूहले सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। घटना अनुसार युवती राति ९स्३० बजेतिर चिनजानकै एक जना युवासँग गफ गरेर बसिरहेकी थिइन्। त्यही बेला मादक पदार्थ सेवन ९मापसे० गरेर आइपुगेको ५ जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लियो।
नियन्त्रणमा लिएर कुटपिट गर्न थालियो। उनीहरुमाथि लाट्ठी, भाटा र मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ। उक्त समूहको नियन्त्रणबाट युवा फुत्किएर भाग्न सफल भए। तर त्यही समूहले युवतीलाई भने आफ्नो कब्जामा लिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फुत्किएर भागेका युवाले गाउँमा गएर होहल्ला गर्न थालेपछि स्थानीय भेला भए। स्थानीय भेला हुन थालेपछि युवतीलाई छाडेर बलात्कारमा संलग्नहरु फरार बनेका थिए।
प्रहरीका अनुसार कुटपिटबाट युवाको टाउको, अनुहार, कुहिना लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। युवतीको पनि शरीरका केही भागमा चोट रहेको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ।
‘रातको समयमा मापसे गरेर आइपुगेको ५ जनाको समूहले गफ गरेर बसिरहेका युवा र युवतीलाई सुरुमा नियन्त्रणमा लिएको पाइयो। कुटपिट हुन थालेपछि युवा फुत्किएर भाग्न सफल भएछन्,’ प्रहरी स्रोतले भन्यो, ‘भाग्न खोज्दा युवतीलाई भने लखेट्दै गएर नियन्त्रणमा लिएपछि सामूहिक बलात्कार गरेको खुलेको छ। स्थानीय भेलाजम्मा हुन थालेपछि घटनास्थलबाट बलात्कारमा संलग्नहरु फरार बनेका हुन्।’
घटनामा संलग्न रहेकामध्ये एक जनालाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। बलात्कारमा संलग्न अन्य युवाहरु फरार रहेको र खोजी तीव्र पारिएको जानकारी श्रेष्ठले दिए।
त्यस्तै मोरङको जहदा गाउँपालिका–७ मा पनि एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ। घरमा सुतिरहेकी अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै दुई युवाले काम छ भन्दै बोलाएर खेतमा पुर्याएपछि सामूहिक बलात्कार गरेको डीएसपी श्रेष्ठले बताए। ‘दुई युवा पुगेर घरमा सुतिरहेकी महिलालाई काम छ भन्दै राति अन्दाजी १० बजेतिर बोलाएछन्। चिनजानकैले बोलाएपछि महिला पनि गइछन्। तर केही परको खेतमा लगेर सामूहिक बलात्कार गरेको पाइयो,’ उनले भने, ‘मुख थुनेर पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको। घटनाका बारेमा प्रहरीमा शुक्रबार दिउँसो १ बजेतिर मात्रै जानकारी आयो।’
घटना सार्वजनिक हुनेवित्तिकै बलात्कारमा संलग्न जहदा–७ का अन्दाजी २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार भारततिर भाग्न खोज्दै गर्दा दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो। पीडितले दिएको किटानी जाहेरीका आधारमा साह र सोरेनविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।