२०८३ जेष्ठ २३ गते , शनिबार

झापामा ब्राउन सुगर कारोबार गर्ने महिलाको घरबाट स्रोत नखुलेको साढे १० लाख बढी रकम बरामद

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र २० गते , सोमबार
झापामा ब्राउन सुगर कारोबार गर्ने महिलाको घरबाट स्रोत नखुलेको साढे १० लाख बढी रकम बरामद

झापा । लागु औषध ब्राउन सुगर बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरू नाताले दाजु बहिनी हुन् । 


इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान ११ बजे अप्सराको घरमा लागु औषध खनताल गर्न पुगेका थिए । अप्सराको घरमा लागु औषध बरामद नभए पनि ब्राउन सुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।  

पक्राउ परेका दुवै जनालाई  इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यता प्रहरीका अनुसार केही दिनअघि काठमाडौँमा २४० ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी थिइन् । ती महिलाले झापाकी अप्सराबाट ब्राउन सुगर खरिद गरी ल्याएको प्रहरीलाई बयान दिएकी थिइन् । सोही बयानको आधारमा काठमाडौँ प्रहरीले झापा प्रहरीलाई अप्सरालाई पक्राउ गर्न पत्राचार गरेको थियो । 
 

सम्बन्धित समाचार