पाठामारीमा सशस्त्रको निर्माणाधीन बिओपी भवन तोडफोड गर्ने तीन जना पक्राउ
झापाको कचनकवल –५ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पाठामारीको निर्माणाधीन भवन तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल–५ डाँगावारि बस्ने १७ वर्षीय विशाल माझी, १७ वर्षीय सन्तोष गणेश र १८ वर्षीय धिरन गणेश रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरू सशस्त्रकै नियन्त्रणमा रहेको जनाइएको छ ।
भवन तोडफोड गर्दा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उनीहरूले निर्माणाधीन भवनमा प्रवेश गरी बिजुलीको सम्पूर्ण बाइरिङ, पङ्खा, बत्ती, झ्यालका सिसा, खानेपानीको ट्याङ्की ,बाथरुमका सामग्रीलगायतमा क्षति पुर्याएको छ । उक्त नयाँ भवन निर्माणका लागि स्थानीय समाजसेवी उखारु गणेशले ७ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि प्रदेश १ सरकारको आर्थिक सहयोगमा भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
उक्त भवनको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको र सो भवनको सशस्त्र प्रहरीले नियमित सुरक्षा प्रदान गर्दै आएको थियो । सशस्त्र प्रहरीको हाल सञ्चालनमा रहेको अस्थायी प्रहरी ब्यारेक पोस्टभन्दा झन्डै एक किलोमिटर उत्तर मेची नदीको किनारमा बनेको भवन हस्तान्तरण नहुँदै तोडफोड हुनु घटना दुखद भएको कचनकवल ५ नम्बर वडा अध्यक्ष नुर आलमले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प