झापा र इलामको सीमा नजिक 'ग्याङ फाइट', खुकुरी प्रहारबाट एक भुटानी शरणार्थीको मृत्यु
खुकुरी प्रहारबाट एक भुटानी शरणार्थीको मृत्यु भएको छ । खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा बुधवार अपराह्न साढे ४ बजे गुरुङमाथि खुकुरी प्रहार गरिएको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।
त्यसपछि घटनास्थल पुगेका प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार गुरुङ आज चुलाचुली क्षेत्रका युवाहरूसँग ग्याङ फाइट (झगडा) गर्न त्यसतर्फ गएका थिए ।
झगडा गर्ने क्रममा चुलाचुलीका एक दर्जन बढी युवाहरूले उनलाई घेरेर खुकुरी प्रहारसँगै आक्रमण गरेको जनाइएको छ । यसअघि गुरुङ विभिन्न अपराधको घटनामा संलग्न भई पटक पटक जेल सजाय भोगिसकेका थिए । केही समय अघि मात्र उनी जेलबाट छुटेर आएर शरणार्थी शिविरमा बस्दै आएका थिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प