२०८३ जेष्ठ २३ गते , शनिबार

दुर्गा मन्दिरको दानपेटिकामा भक्तजनले चढाएको हजारौँ रकम चोरी

sajilo news
झापा
२०७९ आश्विन १९ गते , बुधबार
दुर्गा मन्दिरको दानपेटिकामा भक्तजनले चढाएको हजारौँ रकम चोरी

बडादशैंमा दर्शनका लागि आएका भक्तजनहरुले बिर्ताबजारस्थित दुर्गा मन्दिरमा चढाएको हजारौं रकम दानपेटिकाबाट चोरी भएको छ । गएराति मन्दिरभित्र रहेको दुईवटा दानपेटिकामध्ये एउटा दानपेटिका बाँसको अंकुशले तानेर चोरले रकम चोरी गरेका हुन् । महाअष्टमीदेखि भक्तजनहरुले चढाएको सो दानपेटिकामा २५ हजारभन्दा बढी रकम जम्मा हुनसक्ने देवी मठमन्दिर संरक्षण एवं पूजा समितिका अध्यक्ष बासु माझीले बताए । बुधबार बिहान ३ बजे नित्यकर्मका लागि आउँदा मन्दिरका पुजारी हरि अधिकारीले दानपेटिका चोरी भएको थाहा पाएका थिए ।

बिर्ताबजारको बीच बजारमा सो मन्दिर रहेको छ । बिर्तामोड ३ नम्बर वडा कार्यालयको सामुन्ने रहेको सो मन्दिरबाट प्रहरी चौकी बिर्ताबजार सय मिटर टाढा पनि छैन । एउटा दानपेटिका चोरी भएर अर्को चाहिँ लान नपाएको बताउँदै अध्यक्ष माझीले मन्दिरको मूर्तिमा रहेका बहुमूल्य गरगहनाहरु जोगिएको जानकारी दिए । सामुन्नेको वडा कार्यालयमा सुरक्षा गार्डले रात्रि गस्ती गरिरहँदा र नजिकै प्रहरी चौकी रहँदा समेत बीच बजारको मन्दिरबाट दानपेटिका चोरी हुनुले सुरक्षा चुनौती थपिएको छ ।

बडादशैंको अवसरमा श्रद्धालु भक्तजनहरुले त्यस धार्मिक एवं ऐतिहासिक मन्दिरमा नगद, गरगहना र पशुबलि चढाउने गरेका छन् । गत वर्ष मात्र सडकमा परेको पुरानो दुर्गा मन्दिरलाई भत्काएर छेउमै नयाँ मन्दिर निर्माण गरिएको हो ।

सम्बन्धित समाचार