एमाले परित्याग गरेका राणा बने झापा- २ बाट गठबन्धनका साझा उम्मेदवार
झापा । नेकपा (एमाले) परित्याग गरेका हरिकुमार राणा सत्तारुढ गठबन्धनका तर्फबाट झापा २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
एमालेबाट निर्वाचित अर्जुनधारा नगरपालिकाका पूर्व मेयर समेत रहेका राणाले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका हुन् ।
अर्जुनधारा नगरपालिकास्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर राणाले नेपाली काँग्रेसको सुधीरकुमार शिवाकोटीको प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का नीलमणि बरालको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनकै तर्फबाट झापा २ (१) बाट प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल र (२) बाट प्रदेश सभा सदस्य काँग्रेसका खगेन्द्र मैनालीले उम्मेदवारी दर्ता गराएका छन् ।
२०३९/०४० सालदेखि एमालेमा आबद्ध भएका राणालाई पार्टीले टिकट नदिएपछि उनले असन्तुष्टि जनाउँदै एमाले परित्यागको घोषणा गरेका हुन् ।
गठबन्धनले झापा २ माओवादी केन्द्रलाई दिएका थिए । माओवादीबाट धर्मशीला चापागाईँ उम्मेदवार बन्ने पक्कापक्की भइसकेको थियो । तर, अन्तिम समयमा पार्टीको निर्णय मान्दै चापागाईँले आफ्नो सिट राणालाई छाडेका हुन् ।
यता झापा २ बाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । घिमिरेको प्रस्तावकमा दुर्गाप्रसाद प्रसाईँ र समर्थकमा ध्रुव शिवकोटी रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को (१) मा चिन्तन पाठक र (२) मा एकराज कार्कीले प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्