सर्वसत्तावाद परास्त गर्न मेरो उम्मेदवारी : हरिकुमार राना
बिर्तामोड । झापा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार रानाले सर्वसत्तावादका मतियारलाई सत्तामा पुर्याउँदा समस्या उत्पन्न भएको बताउँदै यसको अन्त्यका लागि गठबन्धन दलको समर्थनमा आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
प्रतिगमनविरुद्ध सङ्गठित गठबन्धन दलको बिर्तामोडमा सम्पन्न संयुक्त बैठकलाई सम्बोधन गर्दै उम्मेदवार रानाले केपी शर्मा ओलीको सर्वसत्तावादी सोच परास्त गर्न गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गरेका छन् ।
बैठकमा निर्वाचन परिचालन मूल समितिका संयोजक एवं नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुधीरकुमार सिवाकोटीले देशमा उत्पन्न विषम परिस्थितिमा संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताउँदै गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । झापा क्षेत्र नं–२ मा गठबन्धन दलका उम्मेद्वारहरुको विजय सुनिश्चित भइसकेको बताउँदै एकताबद्ध ढङ्गमा निर्वाचनमा जुट्न आह्वान समेत गरे ।
कार्यक्रममा नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री धर्मशिला चापागाईँले गठबन्धन दलले योजनाबद्ध रुपमा चुनाव प्रचारलाई अघि बढाए प्रतिगामी तत्त्व परास्त हुने बताए ।
कार्यक्रममा क्षेत्र नं–२ प्रदेश १ का उम्मेदवार पुष्प पोखरेल, २ को २ का उम्मेदवार खगेन्द्र मैनाली , नेकपा एसका केन्द्रीय सदस्य नीलमणि बराल, नेपाली काँग्रेस झापा सचिव कृष्ण हुमागाईँ, नेकपा एसका उपसचिव तीर्थ सिग्देल लगायत गठबन्धन दलका जिल्ला, क्षेत्र, प्रदेशसभा र पालिका स्तरका नेतृत्वको उपस्थिति रहेको थियो ।