जुवातासमा पैसा हारजितको विवादपछि बिर्तामोडमा एक युवकको हत्या, तीन जना पक्राउ
ताप्लेजुङ जिल्लाको सिदिम्बा गाउँपालिका–४ सुरुमखिम घर भई हाल अर्जुनधारा नगरपालिका–११ बिर्तामोड नयाँ बसपार्क बस्दै आएका २५ वर्षीय नवीन्द्र गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलाम नगरपालिका– ९ घर भई हाल अर्जुनधारा– ११ स्थित ताप्लेजुङ–इलाम होटेलका सञ्चालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटेलका कामदार २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ स्थायी घर भई होटेलका कामदार आचार्यकी श्रीमती २३ वर्षीय विमला राई रहेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न एक जना अझै फरार रहेका छन् ।
असोज १७ गते महाअष्टमीका दिन होटेलको पहिलो तलामा होटेलका सञ्चालक अधिकारी, होटेलका स्टाफ आचार्य, मृतक गुरुङ र अर्का एक जना मादक पदार्थ सेवन गरी जुवातास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झैझगडा भएको थियो ।
त्यसै क्रममा होटेल सञ्चालक अधिकारी, होटेलका स्टाफ आचार्य र अर्का फरार एक जनाले मिलेर गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङ्गाको लोहोरो र चक्कु टाउकोमा प्रहार गरेका थिए । त्यसपछि उनीहरूले घटना ढाकछोप गर्ने उद्देश्यले सोही राती घाइते अवस्थामै गुरुङलाई होटेलदेखि १५० मिटर टाढा कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ भएको खाली जमिनको उत्तरतर्फ जाने सडक किनारमा फालिदिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको एसपी पोखरेलले बताए । घटनामा संलग्न अर्का एक व्यक्ति फरार व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए । उनको शव बिहान असोज १८ गते महानवमीका दिन बिहान ६ बजे फेला परेको थियो । उनीहरूमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प