शीर्ष नेताको झापा-३ मा महिला उम्मेदवार शून्य
झापा । देशकै चर्चित झापा क्षेत्र नम्बर-३ मा महिला उम्मेदवारी शून्य रहेको पाइएको छ। झापा-३ बाट शीर्ष नेताहरू गठबन्धनतर्फका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तथा नेकपा (एमाले) र राप्रपा बीचको गठबन्धनबाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
संविधानले कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेकोमा सिटौला र लिङदेनको क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा महिलाको उम्मेदवारी नै परेको छैन।
जिल्लाका पाँचै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ १९२ जनाको उम्मेदवारी परेको छ। त्यसमध्ये महिलाको उम्मेदवारको उपस्थिति अत्यन्त न्यून छ।
प्रतिनिधिसभातर्फ ८ जना र प्रदेशसभातर्फ ११ जना महिलाले मात्र उम्मेदवारी दिएकी छिन्। मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये ९ दशमलव ८९ प्रतिशत मात्र महिला उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
जिल्लामा कुल मतदाताको सङ्ख्या ६ लाख ६३ हजार ३ सय ११ रहेको छ। त्यसमा पनि महिला मतदाताको सङ्ख्या ३ लाख ३२ हजार २ सय ५९ छ। पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या २ सय १५ जनाले मात्र कम हो।
करिब आधा जति महिला मतदाता रहेको जिल्लामा ठुला राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) बाट महिला उम्मेदवार नै छैन।
राप्रपासहित साना दल र स्वतन्त्रबाट मात्रै महिलाको उम्मेदवारी परेको छ। झापा-१ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी पदममाया लिम्बू, जसपाकी राधा थापा र केन्द्रकुमारी दाहालले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छिन्।
झापा-२ मा रेश्मा चेम्जोङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकीबाट उम्मेदवारी दिएकी छिन्। झापा-४ मा राप्रपा नेतृ खुस्बू ओलीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।
झापा-५ मा जसपाकी ओममाया आङ्देम्वे, कल्पना लावती स्वतन्त्र र शान्ता अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। प्रदेशसभा सदस्यतर्फ झापा-१ (१) मा जसपाकी मिरा कार्की र मौलिक जरोकिलो पार्टीकी सीता दुलालले उम्मेदवारी दिएकी छिन्।
त्यस्तै झापा १ (२) बाट लोकतान्त्रिक समाजवादी पार्टीकी रमा मेचे र राप्रपाकी सविना बजगाईँको उम्मेदवारी दिएकी छिन्। झापा नम्बर २ (१) मा राष्ट्रिय जनमुक्ति पार्टीकी पार्वती माङ्मू र मौलिक जरोकिलो पार्टीकी रोमादेवी निरौलाले उम्मेदवारी दिएकी छिन्। त्यस्तै झापा-४ (१)मा राष्ट्रिय जनमुक्ति पार्टीकी संगीता लिम्बूको उम्मेदवारी परेको छ।
झापा ५ (१) मा इन्दिरादेवी दाहाल स्वतन्त्र, लेखमाया श्रेष्ठ स्वतन्त्र र लोकतान्त्रिक समाजवादी पार्टीकी सत्याकुमारी राजवंशीले उम्मेदवारी दिएकी छिन्। झापा ५ (२) मा स्वतन्त्रबाट मधु थापा मगरको उम्मेदवारी परेको छ।