२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा- ३ : एमालेले गिरीको प्रस्तावकलाई पनि गर्‍यो कारबाही

sajilo news
झापा
२०७९ आश्विन ३१ गते , सोमबार
झापा- ३ : एमालेले गिरीको प्रस्तावकलाई पनि गर्‍यो कारबाही

झापा क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी दिने डम्बरबहादुर गिरीसँगै उनका प्रस्तावकलाई समेत नेकपा एमालेले कारबाही गरेको छ । गिरीका प्रस्तावक बनेका हल्दिवारी गाउँ कमिटी सदस्य मनोज सुवेदीलाई समेत एमालेले पार्टीको सबै जिम्मेवारी र साधारण सदस्य पनि नरहने गरी अनुशासनको कारबाही गरेको हो । हल्दिवारी गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटा र सागर पोर्तेलले आज एक प्रेस विज्ञप्ति जारी गरी सुवेदीलाई कारबाही गरिएको जनाएका छन् । स्वतन्त्र वा अन्य कुनै पार्टीको उम्मेदवारीको पक्षमा पार्टीको निर्णयविपरित जिम्मेवार नेता तथा सदस्यहरूले मत प्रभावित गर्ने उद्देश्यले लागेको पाइएमा विधान बमोजिम अनुशासनको कारबाही हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

एमाले नेता भीम रावलले विपरीत सिद्धान्त भएका प्रतिक्रियावादी राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेको मत हाल्न नसकिने जनाउँदै स्वतन्त्र उम्मेदवार गिरीलाई मतदान गर्न आह्वान गरिरहेका छन् । रावलसँगै अन्य जिल्ल स्तरका नेताहरु पनि गिरीको पक्षमा खुलेर लागेका छन् । रावलले आज फेरि अर्को टेलिभिजनलाई अन्तर्वार्ता दिँदै झापा क्षेत्र नं ३ मा एमालेका ९० प्रतिशत कार्यकर्ता गिरीको पक्षमा रहेको बताएका छन् । उनले गिरीले निर्वाचन जित्ने दाबीसमेत गरेका छन् ।

सम्बन्धित समाचार