कागे फुटबल : सन्दकपुर एफसी र जमुना सेमिफाइनल प्रवेश
सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमिफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् ।
गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै सन्दकपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सन्दकपुरको जितमा सुरज राईले दोस्रो हाफको २६ औ र ३० औ मिनेटमा गोल गरे । त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा सन्दकपुर–१ लाई ४–० गोल अन्तरले हराउँदै जमुनाले समेत सेमिफाइनलमा सुरक्षित गरेको छ । जमुनाको जितमा छिरिङ गुरुङले ह्याट्रिक गरे ।
आशिष् राईले थप १ गोल गरे । पहिलो हाफको १३ औ मिनेटमा आशिष्ले जमुनालाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको छैटौँ, २० औ र २५ औ मिनेटमा गोल गर्दै छिरिङले ह्याट्रिक पुरा गरे । जारी प्रतियोगिताको यो दोस्रो ह्याट्रिक हो । यसअघि माबुका अभय धिमालले नयाँ बजार एफसी विरुद्ध ह्याट्रिक गरेका थिए । तेस्रो क्वाटरफाइनल खेलमा युनाइटेड इलाम र सन्दकपुर–३ तथा सन्दकपुर खेल सङ्घ सन्दकपुर–४ माबु र इलाम नगरपालिका–६ बिच प्रतिस्पर्धा हुनेछ । आगामी कार्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।