२०८३ जेष्ठ १२ गते , मंगलबार

बानियाँ र राजवंशी दोस्रो पटक आमनेसामने, यस पटक फरक भिडन्त

sajilo news
झापा
२०७९ कार्तिक १० गते , विहीबार
बानियाँ र राजवंशी दोस्रो पटक आमनेसामने, यस पटक फरक भिडन्त

आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ३ (१) बाट वसन्तकुमार बानियाँ र भूमिप्रसाद राजवंशी दोस्रो पटक आमनेसामने हुँदैछन् । यसअघि २०७४ को निर्वाचनमा पनि दुवै जना भिडेका थिए । त्यस बेला बानियाँले जीत हासिल गर्दा राजवंशीले हार बेहोरेका थिए । तर यस पटक भने भिडन्त फरक देखिएको छ ।

२०७४ को निर्वाचनमा बानियाले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेर निर्वाचन लडेका थिए । त्यस निर्वाचनमा उनी ५ हजार ५४८ मतान्तरले निर्वाचित भएका थिए । बानियाँले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए । तर यस पटकको निर्वाचनमा एमालेका उम्मेदवार बानियालाई राप्रपाले मात्र साथ दिएको छ । तत्कालीन नेकपाबाट चोइटिएको माओवादी र एकीकृत समाजवादीले काँग्रेसका उम्मेदवार राजवंशीलाई साथ दिँदैछन् ।

बानिया २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि झापा क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए । त्यस बेला एमालेका उम्मेदवार बानिया चौथो भएका थिए । काँग्रेसका कृष्णप्रसाद सिटौलाले जितेको त्यस निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देन दोस्रो र माओवादीकी धर्मशीला चापागाईँ तेस्रो भएका थिए । २०७० को निर्वाचनमा चौथो शक्तिको रुपमा रहेको एमालेले राप्रपा र माओवादीको सहयोगमा २०७४ मा झापा क्षेत्र नं ३९१० मा निर्वाचन जितेको थियो । तर, यस पटक त्यो अनुकूलता छैन । एमालेको साथमा राप्रपा मात्र छ ।

चुनावी तालमेल फरक भए पनि आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार बानियाले दाबी गरे । उनले गत निर्वाचनको भन्दा यस पटक अझ बढी मत ल्याउने दाबी समेत गरे । उता लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजवंशीले यस पटक आफ्नो लागि जित्ने माहौल बनेको दाबी गरेका छन् । ‘माहौल राम्रै बन्दै गएको छ ’उनले भने,‘गत निर्वाचनको भन्दा स्थिति सुध्रिएको छ , निर्वाचन जित्छु ।’

कचनकवलमा बानियाँभन्दा राजवंशी बलियो भए पनि भद्रपुरमा बानियाँ बलियो देखिन्छन् । झापाको क्षेत्र नं. ३ (१) भित्र कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ पर्छ । यहाँको कुल मतदाता सङ्ख्या ५८ हजार ८ सय १७ रहेको छ । गत स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा कांग्रेसले जितेको छ । यसअघिको स्थानीय तहमा कचनकवल गाउँपालिकामा राप्रपाले र भद्रपुर नगरपालिकामा एमालेले जितेको थियो ।

गठबन्धनको बलमा काँग्रेसको स्थितिमा केही सुधार देखिन्छ । तर, कचनकवल जित्नुका पछाडि एमाले समेतको भोट जोडिएको छ । स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई हराउन सत्ता गठबन्धनसँग एमाले समेत मिलेको थियो । यस पटक एमाले प्रतिस्पर्धी बनेको छ ।

सम्बन्धित समाचार