मतदातालाई भेट्न उम्मेदवारहरू छठ पूजा स्थलमा
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेट्न छठ पूजा स्थल पुगेका छन् । मङ्सिर ४ गतेको निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरू ठुलो जमघट रहेको छठ पूजामा भोट माग्न मतदातालाई भेट्न पुगेका हुन् । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन र ३ (१)को प्रदेशसभाका लागि उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार वसन्तकुमार बानिया भद्रपुरस्थित मेची नदी किनारमा आयोजित छठ पूजामा पुगेका थिए ।
त्यस्तै झापा क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका माओवादीका हरि राना र २ (१) को प्रदेशसभाका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका पुष्प पोखरेल बिरिङमा आयोजित छठ पूजामा पुगेका थिए । निर्वाचन आचारसंहिताले छुने भएर छठ समाज सेवा समिति बिर्तामोडले बिरिङमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएको थियो । आयोजकहरूले उम्मेदवारहरूलाई निमन्त्रणा नगरे पनि उनीहरू आफै गएको बताइएको छ ।