भारत बेलबारी अन्तर्राष्ट्रिय गोल्डकपबाट बाहिरियो
पथरीशनिश्चरे । भारतको एमएम एफसी वेस्ट बङ्गाल पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा बुधवार भएको खेलमा सिराहाको सहलेस यूथ क्लबसँग ३–१ गोल अन्तरले हार बेहोर्दै भारत प्रतियोगिताबाट बिदा भएको हो ।
विदेशी पाहुना टोली भारतलाई निराश बनाउँदै सिराहा भने प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । खेलको ३० औँ मिनेटमा भारतले आत्मघाती गोलको उपहार पाएको थियो । तर त्यसलाई पहिलो हाफसम्म मात्रै जोगाउन सक्यो ।
भारतका सत्यम शर्माले गरेको प्रहारलाई क्लियर गर्न नसक्दा सिराहा दबाबमा पर्यो । सत्यमको प्रहारलाई क्लियर गर्ने क्रममा सिराहाका खेलाडी असफल भए । बलले सिराहाको पोस्ट चुम्दा भारत १–० गोल अन्तरले अघि बढ्यो ।४०–४० मिनेटको खेलको पहिलो हाफ १–० गोल अन्तरमा सकियो । जित निकाल्ने क्रममा सिराहाका लागि ३ वटै गोल मध्यान्तरपछि मात्रै सम्भव भयो । विदेश खेलाडी फोडे फोफोनाले ४१ औँ मिनेटमा गरेको गोलमार्फत सिराहा लयमा फर्किएको हो ।
उनले दर्शनीय गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए । ४७ औँ मिनेटमा सिराहाका दिनेश हेन्जनले खेललाई २–१ को अवस्थामा पु¥याए । फ्रिकिकबाट रिबाउण्ड भएको बललाई उनले पोस्टको दिशा दिँदा सिराहा अघि बढ्यो ।
सिराहाका फोडे फोफोनाले ७८ औँ मिनेटमा टिमको जित निश्चित गराए । वेस्ट बङ्गालका समीर प्रधानले फउल गरेपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै उनले सिराहालाई ३–१ अन्तरको जित दिलाए ।एक्लै २ गोल गरेका फोडे खेलको म्यान अफ दी म्याच घोषित भए । बिहीबार झापाको रोलिङ क्लब धुलाबारी र आयोजक डाँगीहाट यूथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।