तेस्रो अध्यक्ष कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा
शरणामती। झापा गाउँपालिकाको शरणामतीमा आयोजना हुन लागेको तेस्रो अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ।
कार्तिक १८ गते शुक्रबार देखि २२ गते मंगलबार सम्म आयोजना हुने भलिबल प्रतियोगिताका लागी शरणामती साथै जनता माविको खेलमैदान दुलहीझैँ सिँगारिएको छ।शरणामतीका विभिन्न ठाउँमा प्रवेशद्वार राखिएको र स्टेज सजिसजाउ बनाइएको छ।
शुक्रवार देखि सुरु हुने प्रतियोगिताको उद्घाटन पालिका प्रमुख जयनारायण साहले गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष खगेन्द्र घिमिरेले बताए।भलिबल प्रतियोगिताका लागि खेलमैदान,दर्शक बस्ने ठाउँ लगायत सम्पूर्ण तयारी चुस्त दुरुस्त बनाइएको घिमिरेले जानकारी दिए।
खेलमा जिल्लाबाट ११ टिम र जिल्ला बाहिरबाट ९ टिमले भाग लिने आयोजकले जानकारी दिएको छ। तेस्रो अध्यक्ष कपको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने नवगठित समितिले जनाएको छ । खेलमा वेस्ट प्लेयरले ११ हजार नगद, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्ट डिफेन्स, वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।