'प्रतिगमन परास्त गर्न गठबन्धन एकै ठाउँमा'
झापा । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अहम्तालाई चिर्न गठबन्धन गरी चुनावी मैदानमा उत्रिनु परेको बताएका छन्।
झापा र इलामको सीमावर्ती क्षेत्र बेसीबजारमा शुक्रबार गठबन्धन दलले आयोजना गरेको संयुक्त चुनावी सभामा बोल्दै इलाम १ बाट प्रतिनिधिसभा सदस्य लागि उम्मेदवार बनेका खनालले भने, 'ओलीले देशलाई बर्बादीतिर धकेलेका छन्, देश बचाउन हामीलाई तपाईँको मतदानको खाँचो छ।'
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले गठबन्धनलाई कसैले परास्त गर्न नसक्ने दाबी गरे। गठबन्धनलाई विजयी गराए मात्र मुलुकको परिवर्तन सम्भव हुने उनको भनाइ छ।
झापा १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि प्रतिगमन परास्त गर्न गठबन्धन एक ठाउँमा उभिनु परेको बताए।
समृद्धिको लामो यात्राका लागि एक पटक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गर्दै महामन्त्री शर्माले भने, 'हामीले यहाँको भूगोल, यहाँको भावना बुझेका छौँ, हामी यहीँ केही गर्न चाहन्छौँ अनि यहीँ मर्न चाहन्छौँ।'
स्थानीय र राष्ट्रिय समृद्धिका एजेन्डालाई संस्थागत गर्न गठबन्धन दलहरू सँगसँगै हिँड्नु परेको उनले प्रस्टाए। सो चुनावी सभामा झापा १ ९१०का प्रदेशसभा सदस्य उम्मेदवार गोपाल तामाङ र इलाम १ ९२०का प्रदेशसभा सदस्य उम्मेदवार समसेर राईले लगायतले मन्तव्य राखेका थिए।