झापा- ५ मा गठबन्धन उम्मेदवारको प्रतिबद्धतापत्र सार्वजनिक
दमक । लोकतान्त्रिक– बाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागि आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् ।
दमक ६ सिद्धी मार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी, काँग्रेस समानुपातिक उम्मेदवार अईन्द्र विक्रम केरुङ, प्रदेशसभा उम्मेदवार गगन पुरी, निवर्तमान सांसद तथा काँग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतसहितले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्दै प्रतिनिधिसभाका उम्मेदवार डा. अधिकारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ४० बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको बताए । यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने उनले बताए । त्यसैगरी कृषिलाई आधुनिकीकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
त्यस्तै प्रदेशसभा ९२० का उम्मेदवार पुरीले झापाको कमल गाउँपालिकामा रहेको आदिवासी रङ्गशालालाई अत्याधुनिक रुपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । त्यस ठाउँमा आदिवासी समुदायको पितृहरूको चिहान हटाइएकाले आदिवासीकै नाउँमा रङ्गशाला निर्माण गर्ने उनले बताए । त्यस्तै आफ्नै अगुवाइमा भइरहेको फाल्गुननन्द मार्गको निर्माणको कामलाई पनि सम्पन्न गर्नका लागि आफूहरूलाई जिताउन उनले आग्रह गरे । यस क्षेत्रका भूमिहीनहरूको समस्या समाधानका लागि स्थानीय सरकारमा गठबन्धन निर्वाचित भएपछि काम सुरु भएको भन्दै पुरीले धनी पुर्जा वितरणको चरणमा पुगेकाले अरू ठाउँका भूमिहीनहरूको समस्या समाधानका लागि पनि आफूहरू निर्वाचित हुनै पर्ने जिकिर गरे । सुकुम्बासीहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लगाउने, आदिवासीको नामै सुन्न नचाहनेहरू अहिले सुकुम्वासी र आदिवासीलाई अधिकार दिन्छौँ भन्दै आएकोले उनीहरूलाई जनताले चिनिसकेको भन्दै पुरीले अब नागरिकहरूले परिवर्तनका पक्षधरलाई भोट दिने दाबी गरे ।
कार्यक्रममा निवर्तमान सांसद महेन्द्रकुमारी लिम्बूले लोकतन्त्र जोगाउन र मुलुकको विकासका लागि गठबन्धन गर्नुपरेको बताउँदै गठबन्धनमा मतदान गर्न सबै नागरिकहरूलाई आग्रह गरिन् । आदिवासी जनजातिको अधिकार स्थापित गर्नका साथै यस क्षेत्रको समतामूलक विकासका लागि गठबन्धनले जित्नै पर्ने उनले जोड दिइन् ।