२०८३ जेष्ठ १२ गते , मंगलबार

संविधानको एजेन्डाविपरीत काम गर्नेलाई जनताले यस पटक मत दिँदैनन् : नेता सिटौला

sajilo news
झापा
२०७९ कार्तिक २१ गते , सोमबार
संविधानको एजेन्डाविपरीत काम गर्नेलाई जनताले यस पटक मत दिँदैनन् : नेता सिटौला

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मूल एजेन्डाविपरीत काम गर्नेलाई जनताले मत नदिने बताएका छन् । 
भद्रपुरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका काँग्रेसका पूर्व महामन्त्री सिटौलाले भने, ‘जनताको मतले जितेर संसद्मा पुग्ने, र त्यही संसद्लाई भत्काउन खोज्नेलाई जनताले भोट दिन्छ र ? ’ 
यस पटकको निर्वाचनमा संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्ने सिटौलाको दाबी छ ।  राजवादी विचार भएका उम्मेदवारलाई जनताले कदापि नस्विकार्ने बताउँदै सिटौलाले भने, ‘देशबाट यो सामन्ती राजतन्त्र ढलेर गइसक्यो, अब फेरि कहाँबाट बिउँझन छ त, कसैले कल्पना गर्न सक्ने विषय नै होइन ।’ उनले भने, ‘पूर्व राजा ज्ञानेन्द्र साहसँग विचार नमिल्दा कमल थापालाई पार्टी अध्यक्षबाट फयाक्नु भयो र राजेन्द्र लिङदेनलाई ल्याउनुभयो ।’ झापा ३ मा हिमानी ट्रस्टको कार्यक्रम देखिरहेको बताउँदै उनले भने, ‘त्यसको पनि केही असर छ यस निर्वाचन क्षेत्रमा ।’ 
 राजनीति दृष्टिकोणबाट प्राप्त भएको गणतन्त्र र लोकतन्त्रको अधिकार जनताले छाडन चाहँदैनन् । यस क्षेत्रमा विकास निर्माणको दृष्टिकोणले राप्रपालाई जनताले पाँच वर्ष मूल्याङ्कन गरिसकेको छ ।  ‘त्यसैले विकास र जनताको समस्याका लागि मेरो पक्षमा मत खस्छ,’ उनले भने, ‘२०७४ सालको निर्वाचनमा काँग्रेस यस क्षेत्रमा हारे पनि यहाँका जनताको समस्यामा काँग्रेसले नै सहयोग गरेको छ ।’ राप्रपाले कुनै पनि समस्यामा जनतालाई साथ दिएको छैन । ‘यस क्षेत्रमा विकास चाहने जनताले मलाई नै जिताउनु हुन्छ,’ उनले भने, ‘किनभने यो क्षेत्रको समग्र विकास सिटौलाले मात्र गर्छ भन्ने यहाँका जनतामा विश्वास छ ।’ यो जनताको विश्वास नै मेरो चुनाव जित्न बलियो आधार भएको उनको दाबी छ  । 
‘म जहिले देखि यो क्षेत्रबाट राजनीतिक थाले म यो ठाउँ छोडेर कतै गएको छैन, जिते पनि यही छु हारे पनि यही जनताको माझमा छु,’ उनले भने । 
यसै क्षेत्रबाट दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित भएर संसद्मा पुगेपछि संविधान मस्यौदा समितिको संयोजक भएर काम गर्ने अवसर पाए र देशलाई नयाँ संविधान दिलाउने भूमिका खेले ।  ‘२०७४ सालको निर्वाचनमा पार्टीले मलाई समानुपातिक उम्मेदवार बनाऊ खोज्दा म जनताको प्रतिनिधि हुन्, त्यसैले जनताबाटै चुनेर संसद्मा पुग्छु र संविधानलाई कार्यान्वयनमा ल्याउँछु भनेर उठेको थिए,’ उनले भने ।  तर, वामपन्थीको साहारा लिएर राजवादीसँग मैले हारे । यस पटक संविधानको मूल एजेन्डाविपरीत संसद् पुग्नेलाई जनताले रोक्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

सम्बन्धित समाचार