२०८३ जेष्ठ १२ गते , मंगलबार

देश बनाउने कार्यदिशा र भिजन भएको पार्टी एमाले हो : ओली

sajilo news
झापा
२०७९ कार्तिक २४ गते , विहीबार
देश बनाउने कार्यदिशा र भिजन भएको पार्टी एमाले हो : ओली

शिवसताक्षी । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन भएको पार्टी एमाले मात्रै रहेको दाबी गरेका छन् ।झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठुला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरू नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको दाबी गरे ।

एमालेले आफ्नो घोषणापत्रमा २० वटा काम ग्यारेन्टीका साथ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अन्य ८२ बुँदामा एमालेले घोषणापत्र तयार गरेको उनको भनाई छ । आम मतदाताहरूलाई घोषणापत्र एक चोटि अध्ययन गरिदिन उनले आग्रह समेत गरेका छन् । ग्यारेन्टीभित्र बच्चा बच्चीको पढाइ, रोजगारी, किसानका समस्याहरूलाई सम्बोधन, किसानको उत्पादनलाई बजारीकरण गर्ने, कृषि उत्पादनलाई मूल्य तोकिने, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयहरू रहेका छन् ।

नेकपा एमालेले सुकुम्वासी समस्या समाधान गर्ने तयारी गरिरहेको अवस्थामा सरकारबाट निस्कनु परेको भन्दै ओलीले प्रत्येक स्थानीय तहमा जनता आवास कार्यक्रममार्फत घरविहीन नागरिकलाई व्यवस्थापन गरिएको र क्रमशः अन्य घरविहीन नागरिकहरूलाई घर हस्तान्तरण गर्दै लगिने बताए । अब एमालेको सरकार आएमा उचित मुआब्जा दिएर पूर्व–पश्चिम रेल सञ्चालन गर्ने उनले बताए । अब मङ्सिर ४ पछि बन्ने एमालेको सरकारले गठबन्धन सरकारका कारण रोकिएका कामहरू द्रुत गतिमा सुचारु गरी पुरा गर्ने अध्यक्ष ओलीले बताए ।

उनले देशका लागि छातीमा हात राखेर देश निर्माण र राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने शक्ति आवश्यक रहेको बताए । उनले देशभक्त, विकास प्रेमी, आफ्नो र देश स्वाभिमान उच्च राख्ने जुनसुकै पार्टीमा आबद्ध भएका नागरिकहरूलाई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्नका लागि एमालेमा आउन सधैँ ढोका खुल्ला रहेको उनले बताए ।

सम्बन्धित समाचार