२०८३ जेष्ठ १२ गते , मंगलबार

लिङ्देनले भने : सैनिकमोड–गोलधाप सडक हिँड्न आफैलाई लाज लाग्छ

sajilo news
झापा
२०७९ कार्तिक २८ गते , सोमबार
लिङ्देनले भने : सैनिकमोड–गोलधाप सडक हिँड्न आफैलाई लाज लाग्छ

हल्दिवारीको गोलधाप मूल घर भएका झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले आफूलाई सैनिकमोड–गोलधाप सडक हिँड्न लाज लागेको बताएका छन् ।

सैनिकमोड– गोलधाप सडकबाट आफूले हिँड्न छोडेको बताउने लिङ्देनले बिर्तामोडतिरबाट गोलधापको आफ्नो घरमा कोही आउन खोज्दा चारपाने दक्षिणको बाटो भएर आउन भन्ने गरेको सुनाए । चुनावी घरदैलोका क्रममा बिर्तामोड १० स्थित मनकामना काली मन्दिरमा आयोजित कोणसभामा बोल्दै लिङ्देनले सो बाटो नबन्नुमा नेपाली काँग्रेस दोषी रहेको आरोप लगाए ।

आफू सांसद हुँदा त्यस बाटोका लागि काम गर्न नदिएको उनको भनाई छ । ‘२०७७ मा बजेट ल्याउन खोज्दा वर्ल्ड बैङ्कले बाटो बनाउँछ भनेर काम गर्न दिएनन् ’ उनले भने,‘२०७८ मा पनि मैले केही बजेट पार्न खोजेको थिएँ ।’ सबै निर्वाचन क्षेत्रमा एक–एकवटा सडक निर्माण गर्ने योजनाअनुसार सो सडकमा बजेट परेको बताउँदै उनले जस लिन खोज्ने काँग्रेसलाई चिट्ठा मात्र परेको दाबी गरे । उनले सो बाटोको लागि डिपिआर बनेपनि डिपिआर अनुसार काम गर्न नदिई बिर्तामोड १० का वडाध्यक्षले आफ्नो घरसम्म तन्काएको दाबी गरे ।

सो सडक गत फागुन १८ गते खनाल शान्ति जेभीले ठेक्का लिएको थियो । सैनिक मोडदेखि साढे ४ किलोमिटर दक्षिणसम्म असार मसान्तसम्म कालोपत्रे पूरा गर्न सो कम्पनीले भ्याटसहित ५ करोड २४ लाख ४१ हजारमा ठेक्का लिएको थियो । तर , असारभित्र काम सकिएन । रि–इस्टीमेट गरेर केही दिनअघिदेखि बाटो निर्माण कार्य थालिएको ठेकेदार कम्पनीका अनिल भट्टराईले बताए ।

सम्बन्धित समाचार