२०८३ जेष्ठ २३ गते , शनिबार

ज्वेलर्स सञ्चालक दम्पती ८२ लाख ठगीको आरोपमा पक्राउ

sajilo news
मोरङ
२०७९ मंसीर १ गते , विहीबार
ज्वेलर्स सञ्चालक दम्पती ८२ लाख ठगीको आरोपमा पक्राउ

सर्वसाधारणको ८२ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको हो । आफ्नो ज्वेलर्समा रकम जम्मा गर्न लगाएर सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेको पाइएपछि विश्वकर्मा दम्पतीलाई पक्राउ गरिएको उनले बताए । 

श्रेष्ठका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि उनीहरु ज्वेलर्स नै बन्द गरेर भागेका थिए । गत साउन १७ गतेदेखि फरार बनेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ४ महिनापछि पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानबाट ६५ जना सर्वसाधारणलाई ठगी गरेको खुलेको छ । विश्वकर्मा दम्पतीबाट अरु पनि सर्वसाधारण ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ । सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको छ । 

प्रहरीका अनुसार बचतकर्ताले रकम फिर्ताको माग गर्न थालेपछि उनीहरु ज्वेलर्स बन्द गरेर भागेका थिए । पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी श्रेष्ठले दिए । 

सम्बन्धित समाचार