झापा-१ मा अग्नि, रविन र सबिनाले जित्नेमा ढुक्क छु : ओली
मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर १ मा अग्नि खरेल, रविन कोइराला र सबिना बजगाईँले जित्नेमा आफू ढुक्क रहेको बताएका छन् ।
बिहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अग्नि र विश्वप्रकाश शर्माको लडाइँभन्दा पनि राष्ट्रवादी र राष्ट्रघाती, विकास र विनाशसँग जोडिएको विषय भएको पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले बताए । ‘अग्निले जिते विकास र राष्ट्रवादीको हित हुन्छ’, अध्यक्ष ओलीले भने–‘तर विश्वप्रकाशले जिते मुलुकमा विकास सम्भव छैन । राष्ट्रघातीहरूको जित हुनेछ । यसकारण पनि गठबन्धनलाई परास्त गर्न आम नागरिक जाग्नु पर्ने बेला भएको छ ।’
‘अग्नि खरेललाई संसद्मा नीति निर्माण गर्न र विकासका लागि यहाँ उम्मेदवार बनाएर पठाएका हौँ । हात्ती नियन्त्रण, तटबन्धदेखि वडासम्मको काम एमालेले गर्छ । तपाईँहरू ढुक्क हुँदा हुन्छ ’ उनले भने । ‘विश्वप्रकाश यहाँको रैथाने आफूलाई भन्छन् ’, ओलीले भने–‘२६ वर्षदेखि यहीँकै रैथाने भएर म पनि घुमिरहेको छु । यो क्षेत्रमा चुनाव लड्न म पनि आउन सक्छु । स्थायी र अस्थायी भन्ने हुँदैन । अग्नि झन् नजिककै हुन् । रैथाने हुनका लागि अग्निको पनि एउटा छाप्रो यहीँ हाल्दिँदा भयो ।’ अध्यक्ष ओलीले कानूनमन्त्री, महान्यायाधिवक्ता समेत भइसकेका खरेल सरकार चलाउन सक्ने व्यक्ति भएको दाबी गरे ।
स्वार्थका लागि टालटुल गरेर बनेका गठबन्धनका दलहरूले एमालेसँग एक्लै लड्ने हिम्मत गर्न नसकेको ओलीको भनाई छ ।कार्यक्रममा झापा–१ प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नि खरेल, प्रदेश सभा सदस्य ‘१’ का उम्मेदवार रविन कोइराला, राप्रपाबाट प्रदेश सभा सदस्य ‘२’ की उम्मेदवार सबिना बजगाईँ, निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाईँलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न जातीय झाँकीहरू प्रदर्शन गरिएको थियो भने कलाकार राजा राजेन्द्रले हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।