निर्वाचन बहिस्कार गर्दै प्रदर्शनमा उत्रिएका वैद्य समूहका कार्यकर्ता पक्राउ
निर्वाचन आयोग अगाडि प्रदर्शन गर्ने नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य 'किरण' का कार्यकर्ता पक्राउ परेका छन्। निवार्चन बहिस्कारको माग गर्दै शनिबार निर्वाचन आयोग अगाडि प्रदर्शन गर्ने वैद्यका आधा दर्जन कार्यकर्ता पक्राउ परेका हुन्।
निर्वाचन बिथोल्न सक्रिय समूहप्रति प्रहरीले निगरानी बढाएको छ। आइतबार हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षाका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षाका सबै निकाय परिचालन गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमत, नेकपा क्रान्तिकारी, वैज्ञानिक समाजवादी, स्वाधीन मधेस, जनअभियान, शिव सेना नेपाल, शाही युवा शक्ति नेपाल र स्वतन्त्रको नाममा बनेको केही संगठित समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेका छन्।
चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयको निर्देशन छ।