प्रत्यक्ष र समानुपातिकर्फको मतगणना एकसाथ हुने
निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ।
मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो।
यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना रहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको र मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु गर्ने बताए।
दुर्गम स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलनका लागि हेलिकोप्टरसमेत प्रयोग गरिनेछ। सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिएको छ।