२०८३ जेष्ठ १३ गते , बुधबार

झापामा प्रदेशसभाका १० सिट : एमाले ६, काँग्रेस र राप्रपा २/२ सिटमा अगाडि

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ६ गते , मंगलबार
झापामा प्रदेशसभाका १० सिट : एमाले ६, काँग्रेस र राप्रपा २/२ सिटमा अगाडि

झापा ।  झापामा प्रतिनिधिसभा सदस्यतर्फ तीन क्षेत्रमा अग्रता लिएका नेकपा (एमाले)ले प्रदेशसभा सदस्यतर्फ ६ स्थानमा अग्रता लिएको छ ।  जिल्ला निर्वाचन कार्यालय झापाको पछिल्लो मत परिणाम अनुसार प्रदेशसभा सदस्यतर्फ एमाले ६ स्थान, काँग्रेस २ स्थान र राप्रपा २ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले चार क्षेत्रमा उम्मेदवारी दिएपनि अग्रता नलिएको पाइएको छ ।  

झापा क्षेत्र नम्बर १ (१) मा गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका गोपाल तामाङ र १ (२) राप्रपाकी सविना बजगाईँले अग्रता लिएका छन् । तामाङले ८ हजार ९३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका रविन कोइरालाले ७ हजार ७३४ मत ल्याएका छन् ।  बजगाईँले ५ हजार ९६६ मत ल्याउँदा उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामवीर लिम्बुले ५ हजार ६१५ मत ल्याएका छन् । झापा २ (१) र (२)मा एमालेका एकराज कार्की र तिलचन पाठकले अग्रता लिएका छन् । 

कार्कीले ८ हजार २३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका पुष्पराज पोखरेलले २७४७ मत ल्याएका छन् । पाठकले ७ हजार २३९ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र मैनालीले ५ हजार ४७३ मत ल्याएका छन् । त्यस्तै झापा ३ (१) काँग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका वसन्त बानियाँबीच कडा प्रतिस्पर्धा भइरहेको छ । राजवंशीले १० हजार ४५५ मत ल्याउँदा बानियाँले १० हजार ३५३ मत ल्याएका छन् । उनीहरुबीच १०२ मतान्तर छ । ३ (२) मा एमालेका छविलाल चुडाँलको अग्रता कायम छ । चुडाँलले ५ हजार ६८७ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले ४ हजार ४७५ मत ल्याएका छन् ।

झापा ४ (१) एमालेका राधाकृष्ण खनालले सुरुवाती अग्रता लिएका छन् । खनालले ८४५ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादीका झलकबहादुर मगरले ६६० मत ल्याएर पछ्याइरहेका छन् ।  ४ (२) मा राप्रपाका भक्तिप्रसाद सिटौलाले अग्रता लिएका छन् । सिटौलाले २ हजार २४४ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका एकराज उप्रेतीले १ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् । त्यसैगरी झापा ५ मा एमालेका दुवै उम्मेदवारले प्रदेशसभा सदस्यमा अग्रता लिएको छ । ५ (१) एमालेका हिक्मतकुमार कार्कीले १ हजार ९३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका जीवनकुमार राईले १ हजार ४८० मत ल्याएका छन् । 

५ (२) मा एमालेका होमबहादुर थापाले १२३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादीका रेवतीराज पुरीले ७४८ मत ल्याएर पछ्याइरहेका छन् । 

 

सम्बन्धित समाचार