एमालेको लालकिल्ला तोड्दै काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार महामन्त्री शर्मा भारी मतान्तरले विजयी भएका हुन् । उनको जितसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसले पहिलो खाता खोलेको हो । उनले एमालेको लालकिल्ला तोड्न समेत सफल भएको छ ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटि सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् । शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन । खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पहिलो पटक काँग्रेसबाट उम्मेदवार बनेका शर्मा एमालेका रविन कोइरालासँग पराजित भएको थियो ।
२०७४ सालको निर्वाचनमा उनी माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए । ह्याट्रिक उम्मेदवारी दिएका उनी यस पटक संसद् भवन छिर्ने भएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्रका पालिकाहरूमा एमाले जनप्रतिनिधिको वर्चस्व रहेको छ ।