विश्वकपको फाइनलमा ‘वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने दुईजना पक्राउ
‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनील चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन्।
फिफा बिश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरूमा सट्टाबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ‘वन एक्स बेट’का एजेन्टका रूपमा सक्रिय रहेका उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले विभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टका रूपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडि’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरू प्रोत्साहित हुने गरेको तथ्य खुलेको छ।
साथै सुनीलको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरूमध्ये ७ वटा बैंक खाताहरूबाट करिब १ वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रुपैयाँ र अजयको विभिन्न १९ वटा बैंक खाताहरूमध्ये ५ वटा बैंक खाताहरूबाट करिब ६ महिनाको अवधिमा ६० लाख २९ हजार ९ सय १५ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प