२०८३ बैशाख २३ गते , बुधबार

तन्नेरीमा बढ्दो हृदयाघातको समस्या, कसरी थाहा पाउने लक्षण ?

sajilo news
रासस
२०७९ पौष १४ गते , विहीबार
तन्नेरीमा बढ्दो हृदयाघातको समस्या, कसरी थाहा पाउने लक्षण ?

तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयाघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयाघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयाघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन् । उनले भने, ‘युवाहरूमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयाघातको समस्या बढ्दै गएको छ । खास गरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयाघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ ।’ 

उनका अनुसार अहिले अस्पतालमा हृदयाघात भएर आउने धेरै युवा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ । चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ खानपान, मोटोपना, तनावजस्ता कारणले पनि युवा उमेरमा नै हृदयाघात हुने गरेको उहाँको तर्क छ । चुरोट र सुर्तीका अलावा हृदयाघात वंशाणुगतका कारण पनि हुने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार ४५ वर्ष कटेपछि जो कोहीले पनि वर्षमा एक पटक तथा धूपमान गर्ने, कोलेस्ट्रोल बढी र मोटोपना भएका मानिसले भने एक पटक मुटुको जाँच गराउन आवश्यक हुन्छ ।

खास गरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाव कारणले हृदयाघात हुने गरेको पाइन्छ । जाडोमा हर्मोनको कारणले पनि हृदयाघात हुनसक्छ । बिहान ८ बजेतिरको समयमा बढी हुने गर्दछ । शरीरमा हर्मोन बनिरहेका हुन्छन् । जाडो मौसममा बिहानको समयमा हर्मोनको सक्रियता धेरै हुनेगर्छ । 

हर्मोनको सक्रियता धेरै हुँदा उच्च रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने हुन्छ । चिसो समयमा बेलामा मुटुको नशा साँघुरिएको छ भने मुटुको चाल बढ्दा मुटुलाई रगत पुग्दैन र त्यसलाई थाम्न नसक्दा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा दिपङ्कर प्रजापति बताउँछन् । ‘हर्मोन सक्रिय हुँदा बिहानीपख उच्च रक्तचाप हुने, मुटुको चाल बढ्ने जस्ता कारणले मुटुको नशा साँघुरो छ भने मुटुको चाल बढेको बेला रगत पुग्दैन,’ उनले भने ,’मुटु रोगीलाई बिहानको हिँडाइमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।’

यस्तै धेरैजसो आत्तिने, झगडा गर्ने बेला पनि मुटुको चाल र उच्च रक्तचाप भएर मानिसमा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रजापतिले जानकारी दिए । हृदयाघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्च रक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपने चिकित्सकहरूको सुझाव छ ।  

व्यायाम गर्नेमा कम हृदयाघात

नियमित व्यायाम गर्ने मान्छेमा भन्दा व्यायाम नगर्ने मान्छेमा हृदयाघात हुने सम्भावना रहेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताए। उनका अनुसार सय जना व्यायाम गर्ने मान्छेमा एक जनालाई जीवनभर हृदयाघात हुन्छ भने व्यायाम नगर्ने मानिसमा सय जनामा १० जनामा हृदयाघात हुन सक्दछन् । 

केन्द्रले तीन सय ४० जनामा गरेको अध्ययनमा हृदयाघात भएका ८८ प्रतिशतलाई छाती दुखेको थाहा भएको र २४ प्रतिशतले रोग मुटुको हो भन्ने थाहा पाउने गरेको पाइएको छ । नेपालीहरू छाती दुखे भने ढिलो उपचारका लागि आउने गरेका उनले बताए ।अध्ययनअनुसार ९२ प्रतिशत मानिस नजिकैको स्वास्थ्य चौकीमा पुगेको पाइन्छ । 

लक्षण कसरी थाहा पाउने?

छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाई बढ्न जान्छ र आराम ग¥यो भने कम हुन्छ । यस्तो हुनु भनेको नशा साँघुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ । हृदयाघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयाघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यति बेला दुखाई निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन । 

दैनिक पाँच जना हृदयाघातका बिरामी

केन्द्रका निर्देशक डा अधिकारीका अनुसार दैनिक सात सय जना बहिरङ्ग सेवामा मुटुका बिरामी आउने गर्दछन् भने आकस्मिक कक्षमा ५० भन्दा बढी मुटुका बिरामी आउने गर्दछन् । उनका अनुसार दैनिक पाँच जना हृदयाघातका बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालमा हृदयाघातका बिरामी २४ घण्टाभन्दा पछि आउने गरेका छन् । उनी जति छिटो बिरामी अस्पतालमा आए त्यति नै मुटुको नशा खोलेर मांसपेशीमा रगत सञ्चालन गर्न सकिने बताउँछन् । हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउने सके बचाउन सकिने उनको भनाइ छ । 

केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जियोप्लाष्टी गरेर बचाउने गर्दछ । हृदयाघात भएर आएको एक घण्टाभित्रमा बिरामीको एन्जियोप्लाष्टी गर्न सकिन्छ । एउटा एन्जियोप्लाष्टी गर्नेका लागि एक लाख ५० हजार खर्च लाग्ने गर्दछ । तर तिर्न नसक्ने गरिब असहायका लागि केन्द्रले विगत दुई वर्षदेखि भने निःशुल्क एन्जियोप्लाष्टी गर्ने गरेको छ । “हृदयाघात भएको मानिसको मुटुमा रगतको आपूर्ति बन्द भएपछि मुटु दुख्न थाल्दछ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्दछ । केन्द्रले प्राइमरी एन्जियोप्लाष्टी गरेका बिरामीलाई चार÷पाँच दिनमै अस्पतालबाट घर पठाउने गरेको छ । 

केन्द्रमा २४ घण्टा नै हृदयाघात भएका बिरामीको प्राइमरी एन्जियोप्लाष्टिक गर्नका लागि १५ जना जनशक्तिसहित चार वटा शल्यक्रिया थ्रेयटर (क्याथल्याब) तयारी अवस्थामा राखिएको हुन्छ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लाष्टिक गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनले बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लाष्टिक हुँदै आएको छ । 

पहिलो पटक हृदयाघात हुँदा १०० जनामध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुने गर्दछ । हृदयाघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तनले हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । 

गङ्गालालमा सन् २०१२ मा चार सय ९५ जनामा हृदयाघात भएका थिए भने सन् २०१८ मा तीन गुणा बढेर एक हजार चार सय ६० पुगेको थियो । उहाँका अनुसार २०२० मा एक हजार छ सय ९८ र सन् २०२१ मा दुई हजार दुई सय ७३ जना अस्पतालमा भर्ना भएका छन् । विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयाघात भएका बिरामी मात्र नै छन् ।

सम्बन्धित समाचार