झापाको कनकाईमा अक्सिजन प्लान्ट सञ्चालन
कनकाई । झापाको कनकाई नगरपालिका –३ स्थित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नगरपालिका र दाताहरूको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको आज एक कार्यक्रमकाबीच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् ।
नगर प्रमुख पोखरेलले आफ्नो तर्फबाट अक्सिजन प्लान्ट स्थापनाको लागि १० लाख दिने घोषणा गरेर सुरु भएको अक्सिजन प्लान्ट स्थापना अभियानका लागि कनकाई नगरको १ करोड ७ लाख, विभिन्न दाताहरूबाट सङ्कलन भएको ५८ लाख गरी जम्मा १ करोड ६६ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना भएको हो ।
दुई वर्ष अघि कोरोना कहरका कारण प्रतारित नगरवासी हरुलाई कनकाई नगरपालिकाले निःशुल्क अक्सिजन उपलब्ध गराएको थियो । कोभिड बाहेकका अक्सिजन चाहिने सबै खाले बिरामीहरूले पनि सो सुविधा प्राप्त गरेका थिए । हाल सम्म पनि नगरपालिकाले अक्सिजन आवश्यक पर्ने बिरामीहरूलाई अक्सिजन खरिद गरेर निःशुल्क वितरण गर्दै आएको छ । अब आफ्नै प्लान्टबाट उत्पादन गरिएको अक्सिजन नगरवासी हरुलाई उपलब्ध गराउने र छिमेकी पालिका र अस्पतालहरूलाई अक्सिजन बिक्री गर्ने गरी प्लान्ट सञ्चालनमा ल्याइएको नगरप्रमुख पोखरेलले बताए ।
नगर प्रमुख पोखरेलले नगर अस्पताल सुधारमा ध्यान दिइएको । अब छिट्टै अस्पताललाई सुविधा युक्त बनाएर नगरवासीलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् । नेपालमा स्थापना गरिएका अधिकांश प्लान्टहरू को अक्सिजन उत्पादन शुद्धता क्षमता ९३ प्रतिशत रहेको र कनकाईले स्थापना गरेको प्लान्टबाट ९५ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुने, दैनिक १६० वटा सिलिन्डर भर्न सकिने नगरपालिकाले दाबी गरेको छ । प्लान्टबाट अस्पतालको बेडसम्म सिधै अक्सिजन पुर्याउने व्यवस्था मिलाइएको छ ।
गत आर्थिक वर्षमै तयार भएको अक्सिजन प्लान्ट आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । नगरले विगत वर्षमा पूर्वाधार विकासमा बढी ध्यान दिएको थियो, यस वर्षबाट मानवीय विकासको लागि काम गर्नु पर्छ भन्ने नगर प्रमुखको धेय रहेको छ मानवीय विकास विनाको पूर्वाधार विकासको औचित्य नहुने भनेर नगरले स्वास्थ्य, शिक्षामा क्रमिक रुपमा प्राथमिक बजेट बनाउन थालेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए । अक्सिजन प्लान्ट उद्घाटनको अवसरमा नगर प्रमुख पोखरेललगायत सबै दाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख आशा शर्मा सिवाकोटीले दाताहरूलाई धन्यवाद दिँदै स्वागत गरेकी थिइन ।