अत्यधिक रक्तस्रावका कारण १९ वर्षीय सुत्केरीको मृत्यु
प्रसूति पश्चात् रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । पाँचथरको कुम्मायक गाउँपालिका २ मङजावुङकी १९ वर्षीया मनिषा आचार्यको बुधवार साँझ ज्यान गएको हो ।
उप स्वास्थ्य चौकी मङजावुङका प्रमुख सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि पुस २० गते बिहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो ।
‘भर्ना गरिएको दुई घण्टापछि उनको नर्मल डेलिभरी भयो, केही बेरपछि रक्तस्राव सुरु भएर औषधी दिएपछि ठिक भयो, चार बजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजाने क्रममा उनको निधन भयो,' मेहताले भने ।
बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पठाउने गाडी नभेट्दा पनि उनको थप उपचारमा ढिलाइ भएको मेहताको भनाई छ । साँझ नौ बजे जिल्ला अस्पताल ल्याइ पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनले पैदा गरेको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । सुत्केरीपछि हुने अत्यधिक रक्तस्रावका कारण उनको निधन भएको पाँचथर अस्पतालका डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिए । रेडियो मितेरीबाट