झापाका सुन व्यवसायीलाई सुनको औँठी देखाएर पहेँलो धातु बिक्री गर्ने एकजना पक्राउ
झापा । सुन व्यवसायीलाई नै नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम फाक्फोकथुम गाउँपालिका– ७ घर भई हाल झापा बिर्तामोड नगरपालिका– ५ बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराइली रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
श्रेष्ठले गत बुधवार मेचीनगर नगरपालिका– ९ स्थित रोशन कुमार गजमेरले सञ्चालन गरेको हनुमान ज्वेलर्समा गएर दुई वटा सुनको बेरुवा औँठी (तीन तोला) बिक्री गरेका थिए ।
त्यसबापत ज्वेलर्स सञ्चालक गजमेरले श्रेष्ठलाई १ लाख ८० हजार दिने भनेका थिए । १ लाख ७० हजार तत्काल भुक्तानी गरेको ज्वेलर्स सञ्चालक गजमेरले अहिले १० हजार अपुग भएकोले भोलि पर्सि लिन आउनु भन्दै श्रेष्ठलाई पठाएका थिए ।
श्रेष्ठ पनि गजमेरको कुरा पत्ताएर त्यो दिन हिँडे । ‘त्यसपछि ज्वेलर्स सञ्चालक गजमेरले खरिद गरेको दुई वटा औँठीको चेकजाँच गर्दा त्यो सुन नभई पहेँलो धातु भएको थाहा पाए,’ डीएसपी पाठकले भने, ‘ठगी गर्नेले पहेँलो धातुमाथि सुनको कोटेट (रङ्ग दलेको) लगाएको औँठी बेचेको रहेछ, त्यो थाहा पाए लगतै ज्वलेर्स सञ्चालकले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी हाले ।’
ठगी गर्ने श्रेष्ठले त्यही ज्वेलर्समा बाँकी रहेको १० हजार लिन आउँदा प्रहरीले शुक्रबार साँझ ५ बजे पक्राउ गरेको उनले बताए । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प