भद्रपुर नगर कार्यपालिकाको बैठक अनिश्चित, दुवै पक्ष आ-आफ्नो अडानमा
भद्रपुर । भद्रपुर नगर कार्यपालिकाको बैठक अनिश्चित बनेको छ । शिक्षा कार्यविधि विपरीत गठित शिक्षा समिति र त्यस समितिले गरेको निर्णय खारेज हुनुपर्ने एक सूत्रीय माग राख्दै नेकपा (एमाले) का ११ जना, राप्रपाका ३ जना गरी १४ जना कार्यपालिका सदस्यहरूले बहिष्कारमा उत्रिएपछि नगर कार्यपालिकाको बैठक अनिश्चित बनेको हो ।
नगरपालिकाले शुक्रबार डाकेको कार्यपालिका बैठकमा बहुमत नपुगेपछि स्थगन भएको थियो । शुक्रबार बैठक स्थगन भएपछि नगरपालिकाले आज (शनिवार) बिहान ८ बजे पुनः बैठक बोलाएको थियो । बिहान ११ बजेको प्राप्त जानकारी अनुसार अहिलेसम्म कार्यपालिका बैठक बस्न सकेको छैन ।
असन्तुष्ट बनेका एमाले र राप्रपाका कार्यपालिका सदस्यहरूलाई नगरपालिका कर्मचारीले बैठकमा सहभागी हुन बोलाइ रहे पनि उनीहरू आफ्नो अडानबाट पछि हट्न मानेका छैनन् । नगरपालिकाले पनि उनीहरूको माग सम्बोधन गर्न आफ्नो निर्णयबाट पछि हट्न नमान्दा दुवै पक्षबीच विवाद यथावत् रहेको कर्मचारी स्रोतले जनाएको छ ।
डाकिएको बैठकमा सङ्घीय समपूरक र विशेष अनुदानका योजना माग, स्थानीय तह संस्थागत स्वमुल्याकंन (एलआइएसए) को स्वमूल्याङ्कन, अस्थायी/करार/ज्यालादारी कर्मचारीको म्याद थप्ने, जिल्ला दररेटमा नभएको सामग्रीको इकाई दररेट स्वीकृत गर्ने, गत साल अल्या भई पुस मसान्तसम्म म्याद थप भएका योजनाहरूको म्याद थप्ने, नगर शिक्षा समितिका विषयमा प्राप्त भएको ध्यानाकर्षण सम्बन्धमा, अघिल्लो कार्यपालिका बैठकको समीक्षा र अन्य विविध विषयका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने प्रस्तावहरू पत्रमा उल्लेख छ। २० जना सदस्य रहेको नगर कार्यपालिकामा नगर प्रमुख गणेश पोखरेलसहित चार जना वडाध्यक्ष नेपाली काँग्रेस र एक वडा अध्यक्ष माओवादी केन्द्रका रहेका छन्। कार्यपालिकामा बहुमत बहिष्कारमा उत्रिएका दलकै रहेको छ।
यो पनि पढ्नुहोस् :
भद्रपुरमा कार्यविधिविपरीत शिक्षा समिति गठन, असन्तुष्ट जनप्रतिनिधिले बुझाए ध्यानाकर्षणपत्र
एमाले र राप्रपाका जनप्रतिनिधिले गरे भद्रपुर नगर कार्यपालिकाको बैठक बहिष्कार