क्षयरोग निवारण संस्था झापाको अध्यक्षमा पुनः थापा
भद्रपुर । नेपाल क्षयरोग निवारण संस्था, झापा जिल्ला शाखाको २१ औं जिल्ला सभा आठौँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
भद्रपुर– ८स्थित शाखाको आफ्नै परिसरमा शनिवार प्रमुख अतिथि निवर्तमान प्रदेश मन्त्री ओमप्रकाश सरावगीले पानसमा दीप प्रज्वलन गरेर सभाको उद्घाटन गरेका हुन् ।
सङ्क्रामक क्षयरोग (टिबी.)को कीटाणु पत्ता लगाउने जर्मन वैज्ञानिक रबर्ट ककको तस्बिरमा माल्यार्पण गरी प्रारम्भ सो सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि लगायत भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, केन्द्रीय महासचिव राजन श्रेष्ठ, पूर्वअध्यक्ष काजीलाल डङ्गोल, तारा भुर्तेल लगायतले मन्तव्य दिएका थिए ।
शाखाका यशस्कर तथा विशिष्ट सदस्यहरूका साथै पूर्व सभापति र संस्थागत एवम् व्यक्तिगत दाताहरूलाई सम्मान समेत गरिएको सो सभाको उद्घाटन सत्रमा एक्सेल बैङ्क–चन्द्रगढी शाखाका तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदत्त २५ थान प्लास्टिकका कुर्सी सिइओ डा. इन्द्रकुमार कट्टेलले हस्तान्तरण गरेका थिए ।
संस्थाका सभापति गोपालबहादुर थापाको सभापतित्वमा भएको उद्घाटन सत्रमा शर्मिला अधिकारीले स्वागत र सचिव ऋषि चापागाईँले कार्यक्रम सञ्चालन गरेका थिए । आजै गरिएको निर्वाचन कार्यक्रम अन्तर्गत पुनः गोपालबहादुर थापाको नेतृत्वमा जिल्ला कार्यसमितिको चयन भएको छ । सर्वसम्मतिबाट गठित नयाँ कार्यसमितिमा सभापति थापा लगायत गोपाल गिरी, कृष्णप्रसाद प्रसाईँ, केदार महत, शर्मिला अधिकारी, भीष्म प्रसाईँ, ससीम पोखरेल, जगन्नाथ खनाल, धनजुजु श्रेष्ठ, सुरेन्द्र खत्री रमानबहादुर धमला– सदस्यमा चयन भएको घोषणा गर्दै संस्थाका केन्द्रीय महासचिव एवम् निर्वाचन अधिकृत राजन श्रेष्ठले निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरेका छन् । अब नवनिर्वाचित समितिको पहिलो बैठकले उपसभापति,सचिव, सहसचिव र कोषाध्यक्षको चयन गर्ने जनाइएको छ ।