मेची क्याम्पसमा त्रिपक्षीय भिडन्त
साबिक मेची अञ्चलको पुरानो र ठुलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।
कम्युनिस्ट पार्टीनिकट विद्यार्थी सङ्गठनलगायतले दुई वटा प्यानल बनाउँदा नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ एक्लै निर्वाचनमा होमिएको छ । नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रवि संघले एउटा प्यानल बनाएका छन् । अनेरास्ववियु प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट सन्देश धमलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका छन् । सो अखिलको स्वतन्त्र संयुक्त प्यानलबाट विशाल गिरीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै एकल उम्मेदवारी दिएको नेवि संघबाट भने अध्यक्षमा किशोर ढुङ्गानाले मनोनयन दर्ता गराएका छन् । हिजो उम्मेदवारी दर्ता गरेको र आज दाबी विरोध रहेको निर्वाचन अधिकृत डा। कृष्ण भट्टराईले बताए । मेची बहुमुखी क्याम्पसमा ३ हजार ११४जना विद्यार्थी रहेका छन् ।