क्षयरोगीलाई अण्डा वितरण
मेचीनगर । 'हो हामी क्षयरोग अन्त्य गर्दछौँ' भन्ने मूल नाराका साथ मेचीनगर नगरपालिका नगर स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवस २०२३ मनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आज मेचीनगर स्वास्थ्य शाखाले काँकडभिट्टा स्थित स्वास्थ्य शाखामा मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै बिरामीलाई अण्डा वितरण गरेको छ ।
क्षयरोग लागेको बिरामीको शरीर कमजोर हुने भएकाले बिरामीको स्वास्थ्य तन्दुरुस्तका लागि ३० जनालाई एक एक क्यारेट अण्डा वितरण गरिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । उनले मेचीनगर क्षयरोगको उच्च जोखिममा रहेको हुँदा त्यसलाई निर्मूल पार्न मेचीनगर स्वास्थ्य शाखा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको बताइन् ।
मेचीनगरमा आर्थिक वर्ष २०७७/०७८ मा १८८ जना क्षयरोगका बिरामी रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा १८५ थिए । त्यस्तै चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा १२० जना बिरामीमा क्षयरोगको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जना जटिल किसिमको ९एम डी आर० क्षयरोगका बिरामी रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
काँकडभिट्टा स्वास्थ्य शाखा प्रमुख लेखनाथ खतिवडाले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य अन्जु थापा, मेचीनगर ६ का वडासदस्यहरु ध्रुव राई, सीमा रसाइली र भविन्द्रराज सुब्बालगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा मेचीनगरमा कार्यरत स्वास्थ्य कर्मी, स्वयमसेवीकालगायत बिरामी तथा बिरामीका आफन्तहरूको उल्लेखिय उपस्थिति रहेको थियो ।