२०८३ बैशाख २३ गते , बुधबार

झापामा फेरि कोरोना संक्रमित थपिँदै, आज पनि एकजना संक्रमित

sajilo news
झापा
२०७९ चैत्र २४ गते , शुक्रबार
झापामा फेरि कोरोना संक्रमित थपिँदै, आज पनि एकजना संक्रमित

देशभरि कोरोना संक्रमित बढ्नेक्रममा झापामा लगातार कोरोना संक्रमण बढ्दै गएको छ । हिजो एक जनामा संक्रमण फेला परेकोमा आज पनि थप एक जना संक्रमित भएका छन् ।

आज मेची प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भद्रपुरका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मेची प्रादेशिक अस्पतालमा ८ जनाको पीसीआर परीक्षण गर्दा आज पनि एक जनामा संक्रमण देखा परेको अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झाले बताए । हिजो बिर्तामोडका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ल्याब इन्चार्ज झाका अनुसार दुई महिनायता झापामा पहिलोपटक कोरोना संक्रमण देखा परेको हो ।

यति बेला सीमापारि भारतमा फेरि कोरोना संक्रमण ह्वात्तै बढ्दो छ । भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार नाघेको छ । भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एक दिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो ।

सीमावारि नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ । खुला सीमाबाट सङ्क्रमितको निर्बाध आवतजावत भइरहेकाले जोखिम झनै बढ्ने विज्ञहरू बताउँछन् ।सीमामा निर्बाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने देखिएको छ । सङ्क्रमितको अस्पतालमा भर्नादर बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाका एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । चार जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत छन् ।

चैतमा सङ्कलित २४ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १।१६ को संक्रमण फैलिरहेको जनाइएको छ । गत चैत १७ गते सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार