झापामा दुई बालबालिकालाई कोरोना संक्रमण
झापा । नेपालमा कोरोना सङ्क्रमणले भयावह रूप लिँदै गर्दा झापामा पनि संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या थपिँदै जानेक्रममा मङ्गलवार दुई बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर परीक्षण गराउँदा ३ महिना र ८ महिनाका दुई बालबालिकामा कोरोना संक्रमण देखिएको हो । ती बालबालिकाहरू मेचीनगर र हल्दिवारीको भएको अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झाले बताए । मङ्गलवार ८ जनाको पिसिआर परीक्षण गरिएको थियो । केही दिनअघि पनि बिर्तामोड र भद्रपुरका दुई जनालाई कोरोना देखिएको थियो ।
नेपालमा कोरोना सङ्क्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९७ रहेको छ । त्यसैगरी आइसियुमा ८ जना र भेन्टिलेटरमा ४ जना कोरोना संक्रमित उपचाररत छन् ।