२०८३ बैशाख २३ गते , बुधबार

झापामा विदेशबाट फर्किएका ६ जनामा औलो रोगको संक्रमण

sajilo news
झापा
२०८० बैशाख १२ गते , मंगलबार
झापामा विदेशबाट फर्किएका ६ जनामा औलो रोगको संक्रमण

झापामा औलो रोगको संक्रमण देखा परेको छ । छिमेकी मुलुक भारत र तेस्रो मूलकबाट आएका ६ जनामा औलो रोगको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाको मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकामा दुई–दुई जना, बुद्धशान्ति गाउँपालिका र दमक नगरपालिकामा एक–एक जना औलो रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । 
केही दिनअघि मात्र युगान्डाबाट फर्केका बुद्धशान्ति २ स्थित जयपुर निवासी ३० वर्षीय पुरुषमा औलो रोगको संक्रमण पुष्टि भएको थियो । बैशाख ७ गते बिर्तासिटी हस्पिटल बिर्तामोडमा परीक्षण गराउँदा उनलाई औलो पुष्टि भएको थियो । उनी २०२२ फेब्रुअरी १३ मा युगान्डा गएका थिए भने २०२३ अप्रिल ५ मा नेपाल फर्केका थिए । त्यस्तै सुडान, भारतको दिल्ली, तेलिभिट्टा बिहार, किसनगञ्ज बिहार र मुम्बई महाराष्ट्रबाट फर्केका ५ जनालाई औलो संक्रमण देखिएको उनले बताए । उनीहरू मेचीनगर, कचनकवल र दमकका हुन् ।  चालु आर्थिक वर्षको साउनयता ६ जना संक्रमित भेटिएको उनको भनाई छ । 
यसबाट झापामा औलो रोगको प्रकोप बढेको देखिएको छ । औलो रोगको निदान तथा उपचारका लागि सरकारी स्वास्थ्य संस्थाहरूमा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध रहेको छ । हरेक औलो बिरामी तथा जोखिम क्षेत्रको १, ३, ७ पद्धति अनुसार खोजपड्ताल गर्ने, जोखिम क्षेत्रहरूमा नियमित रुपमा औलो बिरामीको सक्रिय खोजपड्ताल गर्ने गरिएको उनले बताए । उनका अनुसार औलो रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यकता अनुसार कीटनाशक विषादी छर्ने गरिएको छ । गत आर्थिक वर्ष २०७८–०७९ मा कोसी प्रदेशका ७ सहित नेपालभर ४९१ जना औलो रोगी फेला परेका थिए ।
 

सम्बन्धित समाचार