२०८३ बैशाख २३ गते , बुधबार

बिर्तामोड १ का विपन्न बिरामीलाई निःशुल्क रगत 

sajilo news
झापा
२०८० बैशाख १५ गते , शुक्रबार
बिर्तामोड १ का विपन्न बिरामीलाई निःशुल्क रगत 

बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ ।

बिरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निःशुल्क रुपमा रगत उपलब्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र जिल्ला रेडक्रस सोसाइटी झापाबीच शुक्रवार द्विपक्षीय सम्झौता भएको छ । वडा नम्बर १ का वडाअध्यक्ष अग्नि प्रसाद पाण्डे र जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

वडाले निःशुल्क रगत उपलब्ध गराए पनि रेडक्रस झापालाई भने वार्षिक रुपमा शुल्क तिर्नु पर्ने छ । वडाले हरेक वर्ष एक लाख रुपैयाँ तिर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए । उनले अब हरेक वर्ष रगत निःशुल्क गर्ने योजना रहेको बताए । 

बिरामीको लागि रगत आपूर्तिमा निःशुल्क वडा बनाउने उद्देश्यका साथ वडाअध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम लागु गरिएको नगरका प्रवक्तासमेत रहेका वडाअध्यक्ष पाण्डेले बताए । यो कार्यक्रम लागु भएपछि लक्षित वर्गको१ युनिट रगत प्राप्त गर्दा लाग्ने खर्च ९ सय ५० रुपैयाँ बचत हुनेछ ।

रगत प्राप्त गर्नको लागि आकस्मिक अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर १ को बासिन्दा भएको कुनै पनि प्रमाण पत्रको प्रतिलिपि पेस गर्नु पर्ने छ । अन्यथा वडाको सिफारिस अनिवार्य छ । यो कार्यक्रम बैशाख महिनाको अन्तिम सातादेखि लागु हुने वडा कार्यालयले जनाएको छ ।

यस प्रकारको कार्यक्रम जिल्लाको मेचीनगर, भद्रपुर, बाह्रदशी लगायतका पालिका तथा वडाहरूमा लागु भएको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । 

 

 

 

 

 

 

सम्बन्धित समाचार