२०८३ बैशाख २३ गते , बुधबार

बुबा जेलमा, तीन नाबालककी आमा क्यान्सरसँग लड्दै   

sajilo news
झापा
२०८० बैशाख १८ गते , सोमबार
बुबा जेलमा, तीन नाबालककी आमा क्यान्सरसँग लड्दै   

श्रीमान्  फुसन मुर्मू सवारी ज्यान मुद्दामा विगत ८ महिनादेखि झापा कारागारमा छन् । यता काखको १० महिनाका  छोरासहित तीन सन्तानको पालनपोषणको अभिभारा बोकेकी बाह्रदशी ७ डाँगीवारिकी राधा मुर्मू क्यान्सर रोगसँग लडिरहेकी छन् । १० महिनाका छोरा , ५ वर्ष र ९ वर्षका दुई छोरीसहित तीन नाबालक छोराछोरीको संरक्षणका लागि आमा राधाले प्राणघातक क्यान्सर रोगलाई परास्त गर्नु नै पर्ने छ ।त्यसका लागि उनलाई अरूबाट चाहिएको छ हौसला र आर्थिक सहयोग । 

घाटीमा  समस्या आएपछि सुरुमा उनलाई थाइराइडको शंका लागेको थियो । अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले क्यान्सर रोग भनेर बताएपछि उनी आकाशबाट खसेजस्तै भइन् । श्रीमान् कारागारमा अनि सम्पत्तिको नाममा दश धुर जग्गा र सानो एकतले घर । क्यान्सर रोगको उपचारका लागि ठुलो समस्या देखा पर्‍यो । उनले सरसापट र ऋणपान गरेर  गत माघ २५ गते घाटीको अप्रेसन गराएकी थिइन् । क्यान्सर रोगलाई निरन्तर उपचार गर्नुपर्ने  हुन्छ । तर, आर्थिक अभावका कारण उनले थप उपचार गर्न सकेकी छैनन् । यस्तो  अवस्थामा  गङ्गामाया  तथा नरबहादुर बस्नेत  क्यान्सरपीडित  सहयोग संस्थाले आज पीडित मुर्मूकै घरमा पत्रकार सम्मेलन गरी सहयोगका लागि आव्हान गरेको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले तीन जना नाबालक छोराछोरीका लागि आमा मुर्मूको ज्यान बचाइदिन सबैसँग आग्रह गरेका छन् । कार्यक्रममा बाह्रदशी ७ का वडा अध्यक्ष मित्र भट्टराई ,बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मी उप्रेती ,निवर्तमान अध्यक्ष पुष्पलाल धमला , नेपाली काँग्रेस हल्दिवारीका सभापति गंगा प्रसाईँ ,स्थानीय युवा टंक कार्कीले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडित परिवारले माछापुछ्रे बैङ्कमा राधा मुर्मूको नाममा रहेको ४७०५५४०१०५९५०५३४ नं को खातामा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।           
 

सम्बन्धित समाचार