२०८३ बैशाख २३ गते , बुधबार

बालबालिकालाई नियमित खोप लगाउनुपर्नेमा जोड

sajilo news
झापा
२०८० बैशाख २४ गते , आईतबार
बालबालिकालाई नियमित खोप लगाउनुपर्नेमा जोड

भद्रपुर । अभिभावकहरूले आफ्ना बालबालिकालाई लगाउनु पर्ने नियमित खोप तोकिएको समय अवधिभित्र स्वास्थ्य संस्थामा गएर नलगाउने गरेको पाइएको छ । 

भद्रपुर नगरपालिकाले आइतबार आयोजना गरेको नगर स्तरीय नियमित खोप सुदृढीकरण, पूर्ण खोप दिगोपना सुनिश्चितता तथा कोभिड १९ विरुद्धको खोप अभियान सम्बन्धी समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा २३ महिना भित्रका बालबालिका नियमित खोप लिनबाट बीचमै छुट्ने गरेको र त्यसका लागि स्वास्थ्यकर्मीले घरदैलो अभियान सञ्चालन गर्नु परेको जनाइएको छ । 

कार्यक्रममा बालबालिकालाई लगाउनु पर्ने नियमित खोप बारे जानकारी गराउँदै स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले छुटेका बालबालिकाहरूलाई स्वास्थ्यकर्मीहरूले आआफ्ना वडामा खोजी खोजी खोप लगाउनु पर्ने बताए । नगर क्षेत्रमा डी।पि।टी हेबहिब पहिलो मात्रा लगाउने सङ्ख्या अनुसार १५ महिनामा लगाउनु पर्ने दादुरा÷रुबेला को दोस्रो मात्रा खोप लगाउनु पर्ने बालबालिका छुटेको उनले बताए । २०७६ सालमा पूर्ण खोप युक्त भद्रपुर नगर घोषित भएकोले पूर्ण खोप दिगोपना सुनिश्चितता ध्यान दिनुपर्ने उनको भनाई छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म नगर क्षेत्रमा ७७१ जना बालबालिकाले डी।पि।टी हेबहिब पहिलो मात्रा लगाएको तथ्याङ्क थियो । 

दोस्रो मात्रा लगाउँदा त्यो सङ्ख्या ६३० मा झरियो । नगरको १० वटै वडामा १४१ जना बालबालिका छुटेकाले वडा वडामा खटाइएका स्वास्थ्यकर्मीहरूले ती बालबालिकाहरूको खोजी गरी नियमित खोप लगाउने अभियान थालिएको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । साथै कोभिड १९ विरुद्धको पहिलो र दोस्रो मात्राको खोप ९० प्रतिशतले लगाएको र अहिले बुस्टर डोज अभियान सञ्चालन भइरहेको जनाइएको छ । 

नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।   

सम्बन्धित समाचार