बिर्तामोडमा कुष्ठरोगीको संख्या २९ पुग्यो
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको सङ्ख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रमअन्तर्गत सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा बालबालिका ४ जना रहेका छन् । कात्तिक महिनायता बिर्तामोड नगर अस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । शङ्कास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।
कुष्ठरोगका कारण बिर्तामोडमा ६ जना अपाङ्गसमेत भएका छन् । यस्तै १ जनामा कुष्ठरोग पुनः बल्झिएको जनाइएको छ । अन्य वडाको तुलनामा बिर्तामोड १०मा कुष्ठरोगीको सङ्ख्या बढी रहेको सिनियर अहेब तथा फोकल पर्सन दीपक सापकोटाले जानकारी दिए । त्यस वडामा कुष्ठरोगीको ९ रहेको छ ।
कुष्ठरोगको जोखिममा रहेको १० नम्बर वडामा रोग पहिचानका लागि घर– घरमा तालिमप्राप्त स्वास्थ्यकर्मी पठाइने भएको छ । अभियानकै रुपमा जेठ ६ गतेदेखि १० गतेसम्म कुष्ठरोगको शङ्कास्पद लक्षण भएका बिरामी खोजी गर्ने अभियानको तयारी रहेको सापकोटाले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोग नियन्त्रणका लागि समुदाय स्तरमा डटेर लाग्न निर्देशन दिइन् । बिर्तामोडलाई कुष्ठ रोगमुक्त नगरपालिका घोषणा गर्ने गरी काम गर्न जोड दिँदै उनले नगरलाई क्षयरोग,कुष्ठरोगलगायतका रोगहरू मुक्त बनाउनु पर्ने बताइन् ।
यस्तै सर्ने रोगहरूको क्षेत्रमा काम गर्दै आएको संस्था एनएलएफका राष्ट्रिय निर्देशक एन्डु सिथ्लिंगले पालिकाको प्रत्येक विद्यालयलाई माध्यम बनाएर कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरू गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै एनएलएफ दीपक घिमिरेले झापामा अहिले प्रति दश हजार जनसङ्ख्यामा २ जनाभन्दा बढीलाई कुष्ठरोग देखा पर्ने गरेको बताए । उनले बिर्तामोडमा प्रतिवर्ष २० जना नयाँ बिरामी उपचारमा आउने गरेको पनि बताए ।
अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य यमुना आचार्यलगायतका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।