२०८३ बैशाख २१ गते , सोमबार

बिर्तामोड नगर अस्पतालको नयाँ भवन शिलान्यास

sajilo news
झापा
२०८० जेष्ठ २५ गते , विहीबार
बिर्तामोड नगर अस्पतालको नयाँ भवन शिलान्यास

बिर्तामोड नगर अस्पतालका लागि नयाँ भवन निर्माण हुने भएको छ । भवनको आज एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईँले विविधत रुपमा शिलान्यास गरेकी छिन् । अहिले सञ्चालनमा रहेको नगर अस्पतालकै छेउमा निर्माण हुन लागेको ३ तले भवन सुविधा सम्पन्न हुने जनाइएको छ ।

भवन निर्माणको जिम्मा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि काठमाण्डौले पाएको छ । विभाषले १५ करोड ३४ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पारेको हो । गत बैशाख ८ गते नै सम्झौता गरेर प्रक्रिया अघि बढाएको ठेकेदार कम्पनीले २०८१ फागुन २६ गते काम सम्पन्न गर्नु पर्ने छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शय्याबाट २५ शय्याको हुने छ ।

भवनमा निर्माणसँगै नगर अस्पतालको कम्पाउन्ड भित्र वेस्टम्यानेजमेण्ट बिल्डिङ, पोस्टमार्टम ब्लक, क्यान्टिन ब्लक, एटिएम आउस, गार्ड आउस र फार्मेसी ब्लक र वरिपरि घेराबारा र भुईँमा पेवर्स लगाइने छ ।

नयाँ अत्याधुनिक भवन भित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतीक्षालय, सोधपुछ कक्ष, मेडिकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरू राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याबिन, डेलिभरी कक्ष, ब्लड बैङ्क, मल्टिपर्पोज हल लगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नति गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको बताइन् । भवन समयमै सम्पन्न गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताइन । उनले पर्याप्त बजेटको अभावमा सोचे जति काम गर्न नसके पनि आगामी दिनमा यसलाई अझै व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

नगर प्रमुख प्रसाईँले मानिस स्वस्थ भएन भने कुनै पनि काम गर्न नसक्ने भन्दै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको बताइन् । बिर्तामोडलाई राम्रो नगरपालिका बनाउन सबै एक जुट भएर लाग्नु पर्नेमा उनले जोड दिइन् । 

यस्तै उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले सार्वजनिक चासाको रुपमा रहेको यस हस्पिटललाई व्यवस्थापन समितिले अत्यन्त रेखदेख गर्नु पर्ने बताए । उनले हस्पिटलको एउटै उद्देश्य सर्वसुलभ ढङ्गले जनतालाई सेवा दिनु रहेकोले कर्मचारीहरूले मुस्कान सहितको सेवा दिनु पर्ने बताए । 

यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले १८ करोड ८५ लाख रुपैयाँका स्टिमेट भए पनि १५ करोड ३४ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का लागेको जानकारी दिए । उनले भवन निर्माण पश्चात् जनताले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउने बताए । अहिले सञ्चालनमा रहेको भवन सानो रहेकोले दुखले कार्यक्रमहरू अघि बढाइरहेको उनको भनाई थियो ।

वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रमको सञ्चालन नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए । 

यस अघि  ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा निर्माण भएको १५ शय्याको भवन सभामुख देवराज घिमिरेले फागुन २० गते उद्घाटन गरेपश्चात् नगर अस्पताल सञ्चालनमा आएको छ । नगर अस्पतालमा अहिले एक जना एमडीजीकी, ३ जना एमबिबिएस डाक्टर सहितको सेवा उपलब्ध छ । यहाँबाट दैनिक २ सय भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।

 

सम्बन्धित समाचार