आयाेगका अध्यक्षलाई कालाेमाेसाे दल्ने नेवि संघका सभापति पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।
कालोमोसो प्रकरणको नेतृत्व गरेका पोखरेललाई सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले बुधबार बिहान मोरङको बूढीगंगा क्षेत्रबाट पक्राउ गरेको हो।
आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन प्रहरीले उनलाई पक्राउ गरी सुनसरीतर्फ लिएर गएको छ। सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले कालोमोसो दलेको घटनाको नेतृत्वकर्ता पोखरेललाई पक्राउ गरिएको जानकारी दिए।
‘विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि १०–१५ जनाको समूहले कालोमोसो दलेको घटना सार्वजनिक भएपछि विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ। समूहको नेतृत्व गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ,’ ढकालले भने, ‘अन्य व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरी टोली परिचालित छ। कालोमोसो दल्नेजस्तो अमानवीय घटनामा संलग्नविरुद्ध कानुन अनुसार कारबाही अघि बढ्छ।’
विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो। पक्राउ परेका पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा १०–१५ जना संलग्न रहेको भनेर जाहेरीमा उल्लेख गरिएको छ। उदण्ड एवं अमानवीय घटनामा संलग्न सबैको पहिचान भइसकेको र खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि गत सोमबार बिहान ९:३० बजेतिर कालोमोसो छ्यापिएको थियो। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको नाम लिँदै पुगेको समूहले इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर दाहालको अनुहारमा मोसो खन्याइदिएको हो। कार्यालय जाने तयारी गर्दै गरेका बेला निवासमा पुगेर दाहालमाथि अमानवीय हिसाबको दुव्र्यवहार गरिएको प्रहरीको भनाइ छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प