रत्यौली र रेस्लिङ कार्यालयमा नदेख्ने डाक्टर र व्यवस्थापनलाई कहिले सुधार्ने सरकार ?
कचनकवलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना डाक्टर कार्यरत छन, तर व्यवस्थापन छैन । स्वास्थ्य केन्द्रमा रहेका मेडिकल अधिकृत र स्वास्थ्यकर्मी डम्फु कै तालमा नाचिरहेका छन् । दुई जना मेडिकल अधिकृत र स्टाफ नर्सको दरबन्दी भए पनि व्यवस्थापन पक्ष निदाई रहेको घटनाक्रमले देखाएको छ ।
कचनकवल गाउँपालिका भित्र रहेका पाठामारी, केचना, घेरावारि, पथरिया स्वास्थ्य चौकीको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर भए पनि विश्वस्त सेवा र स्वास्थ्य उपचार स्थानीयले पाउन सकेका छैनन्।
गाउँपालिकाले भर्ना गरेका डाक्टरको सेवा र व्यवस्थापन पक्ष हेर्दा कहिले म्याद गुज्रिएको औषधि बिरामीलाई थमाउँछन् त कहिले मेडिकल अधिकृत कै कार्यकक्षमा बलिया स्वास्थ्यकर्मीले दुब्ला स्वास्थ्यकर्मीलाई बिरालोले चिथोरे झैँ चिथोरा चिथोर गरेको ताजा दृश्य हेरेर बसिरहेका हुन्छन् अन्य स्वास्थ्यकर्मी ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा ई सिजी, अल्ट्रासाउन्ड लगायतका सेवाहरू कहाँ छन व्यवस्थापनलाई हेर्ने र मिलाउने फुर्सद छैन । स्वास्थ्य केन्द्रमा डाक्टरको सेवा छ तर सेवाग्राहीले सेवा आक्कल झुक्कल मात्रै पाउँछन् । विष सेवन गरेको बिरामीलाई प्राथमिक उपचारको लागि सामान्य पोटास पानीले वास गर्नु भन्दा १७ किमी टाढा रहेको अस्पताल लैजान सिफारिस गर्छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र बनियानी स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो । सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्स-रे सेवा, ई सिजी सेवा, अल्ट्रासाउन्ड सेवा लगायतका सेवाहरू हुनु पर्ने हुन्छ। तर यी सबै सेवा दिने जनशक्ति नभएकाले हो वा क्षमता र दक्षताले नभ्याएर हो स्थानीयले सास्ती भोग्दै आएका छन् । दिनरात नभनी जनताको सेवा र कार्यमा खटिएका स्वास्थ्यकर्मी भने दायाँबायाँ भइरहेको नाटक मञ्चन हेर्नू भन्दा आफ्नै कर्ममा रमाई रहेको देख्न सकिन्छ । सरकारले तोकेको सेवा सुविधामा चित्त नबुझे विकल्प किन नखोजेर स्वास्थ्य क्षेत्रलाई बदनाम गराइरहेका होलान् ?
तैँ चुप मैँ चुप भएकोले हो सरकारले नसुनेको र नदेखेको ?
कचनकवल गाउँपालिकाभित्र प्राथमिक स्वास्थ्य केन्द्र बनियानी मातहत रहेका घेरावारि, पथरिया , केचना र बालुवाडी स्वास्थ्य चौकी रहेका छन् । तर आफू मातहतका स्वास्थ्यकर्मी बजारमा छ्यापछ्याप्ती ट्रेन्डिङ नम्बर १ मा भाइरल भइरहँदा समेत सरकार भने अब के गर्ने भन्नेमा पक्ष र विपक्षमा मत जाहेर गर्दै कसैलाई सरुवा कसैलाई निलम्बन गरिरहेको हुन्छ । स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा यति धेरै चरम लापरबाही र ऐन नियम विपरीतका गतिविधि बजारमा भाइरल हुनु अगावै किन सचेत र बर्खास्त गर्न नसकेको सरकारले ? दिनरात नभनी सेवामा समर्पित स्वास्थ्यकर्मी माथिको अन्याय होइन यसरी दिन दहाडै कार्यालय भित्रै रत्यौली र ठट्यौली भन्दै रेस्लिङ खेललाई गुपचुप झैँ बनाउनु ?
सरकारी सुविधा के का लागि सरकार ?
सरकारले सकेसम्म आफ्ना जनशक्तिको लागि बासको प्रबन्ध पनि गरेको छ । जहाँ परिवार सहित क्वाटरमा बस्दै आइरहेका पनि छन् । पद र हैसियत अनुसार काम,कर्तव्य र अधिकार स्थायी अस्थायी दुवैलाई एउटै तोके पनि सेवा सुविधा भने कतिपय अवस्थामा तलमाथि पक्कै हुन्छ । अस्थायी मान्छे नै होइन भन्ने स्थायी सेवामा रहेकाहरूको व्यवहार र कामले कति खिल्ली उडाइरहेको छ ? कार्यालय प्रमुख डाक्टरको निर्देशन पालना नगर्ने कर्मचारी र राजनीतिक आडमा भर्ती भएका डाक्टर तथा कर्मचारी नेताको दैलो चहारेर जागिर बचाउने र धम्क्याउने दिवा सपना बालुवाको घरमा परिणत हुने दिन लगभग आउन थालेको मूल्याङ्कन अझै गर्न नसक्ने हो भने नागरिक भएकोमा कस्तो गर्व गर्ने होला ?
जनताको धैर्यताको बाँध फुटेका दिन त्यस्ता कर्मचारी, राजनीतिक आवरणमा आँफुलाई साँढे ठान्ने जुनसुकै कर्मचारीले कानुन र नियम भन्दा माथि छैनौँ सबैभन्दा ठुलो जनताको लागि सर्वोपरि ठानेर कार्य गरौँ । जनताको मतले नीति नियम र कुर्सीमा पुगेका राजनीतिक नेता र दक्षता प्रदर्शनीका लागि राजनीतिक अवसर पाएका जुनसुकै कर्मचारीले क्षमताको प्रदर्शन गरी जनताको मनमा बस्नु नै दीर्घकालीन न्याय हुनेछ । नातावाद र कृपावादमा क्षणिक रमाउनु भन्दा जनताको मन जित्ने व्यवहार प्रदर्शन गर्नु नै जनप्रतिनिधिको दायित्व भएकोले असल कर्मचारीलाई सम्मान गरौँ भने ऐन , कानुन भन्दा माथि ठान्ने शासक कर्मचारीलाई दण्डित गर्ने हिम्मत भए गरौँ ।